काठमाडौं । नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूकाे भेला हुने भएको छ ।
शुक्रबारदेखि राजधानीमा सुरू हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका सरकारी निकायहरू सहभागी हुने भएका हुन् । ३६ औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।
शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औं वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विस्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायहरूको आआफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए ।
‘आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ’ उनले भने ।
सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्ष्ण सस्थाहरूको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।
FACEBOOK COMMENTS