काठमाडौं । बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा सहयोग गर्न चीनबाट सुरुङसम्बन्धी विज्ञ टोली नेपाल आइपुगेको छ।
नेपालस्थित चिनियाँ दूतावासले केही मिनेटअघि मात्रै सामाजिक सञ्जालमार्फत चिनियाँ सुरुङ विज्ञहरू नेपाल आइपुगेको जानकारी दिएको हो। दूतावासले टोली उद्धार तथा राहत कार्यमा सहयोग गर्न आएको जनाएको छ।
विशेषगरी बाढी प्रभावित जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाहरूको उद्धारका लागि प्राविधिक विशेषज्ञताको आवश्यकता देखिएका बेला चिनियाँ टोली नेपाल आएको हो। नेपाल सरकारले पनि जटिल सुरुङ उद्धारलगायत विशेष प्राविधिक क्षमता आवश्यक पर्ने क्षेत्रमा विदेशी विज्ञको सहयोग लिने निर्णय गरेको छ।
नेपाली टोलीसँग समन्वय गरेर काम
प्राप्त विवरणअनुसार चिनियाँ सुरुङ विज्ञहरू प्रभावित क्षेत्रमा परिचालित नेपाली उद्धार टोलीसँग समन्वय गरेर काममा सहभागी हुनेछन्।
बाढीका कारण प्रभावित सुरुङ तथा भूमिगत संरचनाभित्रको अवस्था अध्ययन गरी उद्धारको सम्भाव्यता र अपनाउनुपर्ने प्राविधिक विधिमा उनीहरूले सहयोग गर्नेछन्।

रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाली सेना तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्। जटिल भूमिगत संरचनामा उद्धारका लागि विशेष प्राविधिक ज्ञान आवश्यक देखिएपछि नेपालले चीनसहितका मुलुकबाट विशेषज्ञ सहयोग स्वीकार गरेको हो।
चिनियाँ दूतावासले सार्वजनिक गरेको सूचनामा पनि सुरुङ विज्ञहरूको आगमनलाई नेपालमा भइरहेको उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने कदमका रूपमा उल्लेख गरिएको छ।