काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को भावी नेतृत्वका लागि भोलि मंगलबार हुने निर्वाचनको मतपरिणाम कर्पोरेट खबर डट कममा हेर्न सकिने भएको छ ।
नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रको अग्रणी सञ्चार संस्था कर्पोरेट मिडिया ग्रुपअन्तर्गत कर्पोरेट खबर अनलाइनले महासंघको निर्वाचन परिणामलाई छिटो, छरितो, आधिकारिक र व्यवस्थित तवरबाट सम्प्रेषण गर्न लागेको हो ।
मत परिणामबारे जानकारी दिन अनलाइनले विशेष ‘डिजिटल रिजल्ट सिस्टम’ विकास गरेको छ । कुन कलष्टरका को–को उम्मेदवारले कति–कति मत प्राप्त गरे र को–को उम्मेदवार निर्वाचित भए भन्ने जानकारीलाई व्यवस्थित गरिएको छ ।
उक्त प्रणालीमार्फत आम नागरिक, सरोकारवाला तथा व्यावसायिक समुदायलाई छिटो, विश्वसनीय र व्यवस्थित सूचना प्रवाह गर्ने उद्देश्य राखिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वल जंग शाहले जानकारी दिए । समग्र निजी क्षेत्रको छाता सङ्गठन एफएनसीसीआईको निर्वाचन परिणामको चासो आमरूपमा हुने भएकाले सबैलाई समेट्नेगरी मतपरिणाम अद्यावधिक गर्ने प्रणाली विकास गरिएको उनले बताए ।
महासंघको महासंघको ६०औँ वार्षिक साधारण सभा ग्वार्कोस्थित होटेल टुलिपमा भोलि आइतबार उद्घाटन हुँदैछ भने पर्सि मंगलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । महासंघको विद्यमान विधान अनुसार भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन् ।

महासंघको निर्वाचन समिति कार्यालयका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अध्यक्ष र कोषाध्यक्षबाहेक जम्मा निर्वाचित हुने ७३ पदका लागि कूल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् भने मतदानका लागि कूल एक हजार ८९२ संघसंस्थाका प्रतिनिधिहरू तमतयार अवस्थामा छन् ।
