काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्बेश जोशी ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार काठमाडौँ महानगरपालिका–२ खुर्सानीटार बस्ने जोशीलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० साल वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएर सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले समयमै अनुमतिपत्र नवीकरण नगरेपछि २०८० साल वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वत: रद्द भएको थियो ।
अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापनसम्बन्धी नियमअनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको थियो । यसबीच सरकारी सम्पत्तिमा बेइमानी गरी हक टुटाउने उद्देश्यले कार्य गरेको आरोपमा जोशीलाई ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।