काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मुलुकमा राम्रा दिन शुरू हुने बताएका छन् ।
निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सोमबार काठमाडौंको एभरेष्ट होटेलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले उद्योगी–व्यवसायीको समस्या समाधान गर्न नसक्ने जिकिर गर्दै निर्यातकर्ता व्यवसायीहरूलाई यस्तो ढाडस दिएका हुन् ।
‘अहिले त हामी चुनावतिर छौँ । तपाइँहरू पनि यसो समय निकाल्नुहोला । सके प्रचार–प्रसार गर्नुहोला, सक्नुभएन भने भोट हाल्नुहोला,’ ओलीले भने, ‘अब कोभिड पनि समाप्त हुँदैछ । हामी फेरि अगाडि बढ्नेछौँ । हाम्रा राम्रा दिनहरू अब आउँदैछन् । यो स्थानीय निर्वाचनबाट राम्रा दिनहरू शुरू हुन्छन् । त्यसपछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन नेपालमा आउँछन् ।’ ढुक्क हुन उनले सबै उद्योगी–व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
संघीय संसदको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने ओलीको सङ्केत थियो । ‘अहिले म वर्तमानका लागि सरकारलाई धेरै कुरा भन्न सक्दिनँ । तर, तपाइँहरूलाई थाहै छ– आठ–दश महिनाको कुरा हो पर्खिनुहोस्,’ ओलीले भने, ‘तपाइँहरूका अप्ठ्याराहरूलाई ध्यान दिइने छ, अप्ठ्यारा फुकाइने छ र अगाडि बढाइने छ ।’
ओलीले सो अवसरमा व्यवसायीहरुलाई अनावश्यक क्षेत्रमा लगानी नगर्न तथा रेमिट्यान्सबाट देश धान्ने अवस्थालाई न्यूनीकरण गर्नका लागि भूमिका खेल्न पनि आग्रह गरेका छन् । ‘निर्यात नबढीकन देशको अर्थतन्त्र राम्रो हुँदैन,’ ओलीले भने, ‘देशमा विदेशी मुद्राको सञ्चिती, विदेशी मुद्राको आय सबै, हामीले रेमिट्यान्सबाट होइन निर्यातबाट आय गर्नुपर्छ, निर्यातमा भर पर्नुपर्छ ।’
उनले अगाडि भने, ‘रेमिट्यान्स बहुतै भल्गरेबल हुन्छ । अहिले पो कतारले मान्छे मागिरहेको छ त । एक ढङ्गले भन्ने हो भने कतार बनिसक्यो, कन्सट्रक्शन भइसक्यो । केही वर्षमा त भइ नै सक्छ । नेपालीले बनाइदिइसके त कतार । त्यसपछि उसले मान्छे लिन छोड्छ ।’ कतारले नेपाल र नेपालीको मायाले रोजगारी दिएको नभइ उसको आफ्नो आवश्यकताले भएको ओलीको भनाइ छ । यसैगरी अन्य देशहरूबाट पनि अब कामदारको माग आउन क्रमशः कम हुने र कुनै पनि समयमा नेपाल अप्ठ्यारोमा पर्न सक्ने ओलीको दृष्टिकोण छ ।
‘हामी अप्ठ्यारोमा नपर्नका निम्ती रेमिट्यान्समा भर पर्ने होइन, आफ्नो जनशक्ति बाहिर पठाउने होइन, यहीँ हामीले प्रोडक्शन गर्नुपर्छ, मुख्य कुरा यही हो,’ ओलीले भने, ‘निर्यातमा ध्यान दिनुपर्यो । यसले रोजगारीको अवसरदेखि लिएर विदेशी मुद्राको सञ्चिती र आर्जन गर्न सक्छ । निर्यात उद्योगको विकाससँगै हुने निर्यातजन्य उत्पादन जब निर्यात गर्न थालिन्छ तब उपभोग्य सामानको आन्तरिक खपत पनि बढ्ने ओलीको भनाइ छ ।
यसले नेपालको अर्थतन्त्र आत्मनिर्भर र ‘एक्स्पोर्ट इकोनोमी’तिर जाने उनको विश्वास छ । ‘अहिले हामी आयातित अर्थतन्त्र र रेमिट्यान्स अर्थतन्त्रमा छौँ । यो रेमिट्यान्स इकोनोमी र इम्पोर्ट इकोनोमी होइन, हाम्रो एक्सपोर्ट इकोनोमी हो, ‘प्रडक्शन इकोनोमी’तर्फ हामी जानुपर्छ । यसका लागि मोडर्न टेक्नोलोजीको प्रयोग बढाउनुपर्छ ।’
यो पनि पढ्नुहोस्–
निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न,उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान
पत्रकारहरूलाई एफएनसीसीआईका उपाध्यक्षको आग्रह– एडभर्टाइज नदिए पनि हाम्रा कुरा लेखिदिनुहोस्
FACEBOOK COMMENTS