काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालका निर्यात व्यवसायीहरू साहसी र बहादुर इन्टरप्रेनर भएको बताएका छन् ।
नेपालबाट निर्यात गर्न त्यति सहज नभएको बताउँदै उनले नेपालमा बसेर निर्यातलाई व्यवसाय बनाउन सक्नु साहसिक र बहादुरी भएको उनको भनाइ छ । सोमबार निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले नेपालबाट निर्यात प्रवर्द्धन हुन नसक्नुको मुख्य कारण सरकार भएको बताएका छन् ।
नेपालका गार्मेन्ट निर्यातकर्ताहरूले बंगलादेशी गार्मेन्ट निर्यातकर्ताहरूलाई दिएको शिक्षाका कारण आज बंगलादेश सबैभन्दा धेरै गार्मेन्ट एक्सपोर्ट गर्ने स्थानमा पुगेको भए पनि शिक्षा दिने नेपाल अहिलेसम्म पनि जहाँकोतहीँ रहेको बताएका छन् ।
‘आज भन्दा १५ वर्षअघि नेपालका गार्मेन्ट निर्यातकर्ताहरूले त्यहाँको गार्मेन्ट एसोसिएशनलाई भनेका थिए– नेपालमा सरकारले निर्यात प्रवर्द्धनका अनुदान दिने भनेको छ, तपाईंहरू पनि त्यसै गर्नुहोस् भनेका थिए,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘त्यो शिक्षा लिनेहरू अहिले १२–१५ प्रतिशतसम्म अनुदान पाएका छन्, तर नेपालमा १/२ प्रतिशत अनुदान दिन पनि सरकारको दाँतबाट पसिना झर्छ भने अहिले सरकार कुन मुखले निर्यात बढोस् भन्दैछ उनले प्रश्न गरे ।’
निर्यात मात्र होइन समग्र निजी क्षेत्रको प्रवर्द्धनमा राज्यका शासक, नीतिनिर्माता वा सरोकारवाला कसैको पनि चासो नरहेको उनको भनाइ छ ।
आज सरकार तरलता अभावको सामना गरिरहेको छ । सरकारलाई डलर चाहिरहेको छ । यदि सरकारलाई डलर चाहिएको छ भने डलर आउने काम किन गर्न सक्दैन श्रेष्ठले प्रश्न गर्दै भने, ‘सरकारले एक डलर पायो भने ३० देखि ३५ प्रतिशत राजस्व पाउँछ । सरकारले यत्तिको लाभ लिइरहँदा एक्सपोटर्सलाई ५–१० प्रतिशत छूट दियो भने त एक्सपोटर्स पनि रमाउँछन्, सरकारले पनि लिक्युडिटी पाउँछ यत्ति काम गर्न पनि हामी कराउँदा कराउँदै स्वरै सुकिसकेको छ ।’
व्यवसायीले आफ्नो अधिकार मागेर नभइ खोसेर लिनुपर्ने अवस्थामा पुगेको भन्दै उनले भने, ‘हामी एकजुट हुनुपर्ने बेला आएको छ । तपाईंहरू त्यसो गर्न चाहनुहुन्छ भने सम्झनुहोस् महासंघ तपाईंहरू सँगै छ ।’
यो पनि पढ्नुहोस्–
निर्यात व्यवसायीलाई केपी ओलीको ढाडस : निर्वाचनपछि राम्रा दिन शुरू हुन्छन्, नआत्तिनुहोस्
निर्यात व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न,उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान
पत्रकारहरूलाई एफएनसीसीआईका उपाध्यक्षको आग्रह– एडभर्टाइज नदिए पनि हाम्रा कुरा लेखिदिनुहोस्
FACEBOOK COMMENTS