काठमाडौँ । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् ।
सर्वोच्च अदालतको आदेसपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुन: पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिरासत प्रक्रियामा त्रुटि देखाउँदै गोल्छालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
सोही आदेशपछि गोल्छा धरौटी बुझाएर रिहा भए पनि बीमा ऐन, २०७९ अन्तर्गतको छुट्टै मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा पुन: नियन्त्रणमा लिइएको हो।

अब उनलाई उक्त बीमा सम्बन्धी कसुरमा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने बताइएको छ ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा समुहका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि बैशाख १० गते पक्राउ गरिएको थियो ।