काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरेको छ । त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य ससेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
