काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने बताएका छन् ।
नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्ने क्रममा उनले प्रजातन्त्रमा जनताको गुनासो सुन्नुपर्नेमा जोड दिँदै नागरिक स्वतन्त्रता सबैभन्दा ठूलो हुने बताएका हुन् ।
तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएको घटनाहरूलाई उल्लेख गर्दै उनले भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’
यस्तै, उनले देशको भविष्यलाई लिएर जनतामा आएको उक्त जागरुकतालाई सकारात्मकरूपमा लिएको चर्चा गर्दै जनतातामा रहेको देशभक्तिपूर्ण भावना विश्वकै अनुकरणीय र अनुशरणीय रहेको बताएका छन् । ‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वकै अनुकरणीय र अनुशरणीय छ,’ उनले भने ।
यसैगरी, उनले जनताको जागरुकता र देशभक्तिपूर्ण भावनाको यही ०८२ सालमा कदर गरी राजसंस्था ब्युँताउने सङ्केत समेत गरेका छन् । उनले भने, ‘देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।’
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको चर्चा गर्दै उनले राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको परम्परामा हाम्रो मान्यता रहिआएको स्पष्ट गरे ।
वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव हुनुपर्ने भन्दै उनले जनतालाई राजसंस्थाको भावना र मर्म बुझाउने प्रयत्न गरेका छन् ।
हेर्नुहोस् भिडिओ–
पूर्वराजाले तीनकुने घटनाबारे प्रतिक्रिया दिँदै भने– घनघोर निराशाका बीच कतिञ्जेल रहने ?
FACEBOOK COMMENTS