काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्राथमिक सेयर (आईपिओ) स्वीकृतिको प्रक्रिया लामो समयदेखि प्रभावित हुँदा ओभर द काउन्टर (ओटिसी) बजारमा सेयर कारोबार उल्लेखनीय रूपमा बढेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार ५ गतेसम्म ओटिसी बजारमार्फत ४ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
यस अवधिमा विभिन्न कम्पनीका २ करोड ७० लाख ५९ हजार १०५ कित्ता सेयर किनबेच भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा भने ४७ कम्पनीका २० लाख ६९ हजार ६०७ कित्ता सेयर २ अर्ब ९५ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा चालु वर्षमा ओटिसी कारोबार रकम झण्डै दोब्बरले बढेको देखिन्छ।
आईपिओ स्वीकृतिमा भइरहेको ढिलाइलाई कारोबार वृद्धिको प्रमुख कारण मानिएको छ। सेबोनको पाइपलाइनमा हाल ६९ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता सेयर स्वीकृतिको प्रतीक्षामा रहेका छन्। विभिन्न कम्पनीले तीन वर्षदेखि आईपिओ निष्कासनको अनुमति पर्खिरहेका छन्।
बोर्डका तथ्यांकअनुसार २०८० सालमा अनुमति मागेका १५ कम्पनी, २०८१ मा ४१ कम्पनी, २०८२ मा ३७ कम्पनी र २०८३ मा १० कम्पनीको आवेदन अझै स्वीकृत हुन सकेको छैन।
आईपिओ स्वीकृतिमा ढिलाइ हुनुको एउटा प्रमुख कारण प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीको विषयमा देखिएको नीतिगत विवाद हो। नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यस्ता कम्पनीको आईपिओ रोक्ने निर्णय गरेका थिए। त्यसपछि सार्वजनिक लेखा समितिले पनि वास्तविक नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपिओ अनुमति नदिन निर्देशन दिएको थियो।
तर, प्रतिनिधिसभाको अर्थ समितिले भने कानुनमा उल्लेख नभएका अतिरिक्त सर्तका आधारमा आईपिओ रोक्न नहुने भन्दै फरक निर्देशन दिएपछि बोर्ड अन्योलमा परेको थियो। यसैबीच, आईपिओ स्वीकृतिसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान अघि बढाएपछि स्वीकृति प्रक्रिया थप सुस्त बनेको हो।
ओटिसी बजारमा नेप्सेमा सूचीकृत नभएका, सूचीकरणबाट हटाइएका वा सार्वजनिक कम्पनीका रूपमा दर्ता भए पनि नियमित कारोबारमा नआएका कम्पनीका सेयर किनबेच हुने व्यवस्था छ। चालु आर्थिक वर्षको असार ५ गतेसम्म यस बजारबाट सरकारले २६ करोड ४८ लाख ७२ हजार रुपैयाँभन्दा बढी पुँजीगत लाभकर पनि संकलन गरेको छ।
समीक्षा अवधिमा सर्वोत्तम स्टिल्स, इसेवा, स्नो रिभर्स, छिमेकी बजार व्यवस्था कम्पनी, मिल्की वे सेयर ब्रोकर, सोलार फार्म, सानिमा हाइड्रोपावर, प्रभु क्यापिटल, सिटिजन्स क्यापिटल, आकाश क्यापिटल, माछापुच्छ्रे क्यापिटल, अल्फा क्यापिटल, अवसर इक्विटी, रिलायबल भेन्चर क्यापिटललगायतका कम्पनीको सेयर ओटिसी बजारमा कारोबार भएको नेप्सेले जनाएको छ।
त्यस्तै हिमालयन ब्रोकरेज, सेक्योर्ड सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज, नासा सेक्युरिटिज, हातवे स्टक डिलर, अनलाइन सेक्युरिटिज, रोड शो सेक्युरिटिज लगायतका धितोपत्र व्यवसायी कम्पनीका सेयर पनि ओटिसीमार्फत किनबेच भएका छन्।
जलविद्युत्, उत्पादन, औषधि, होटल, कृषि तथा वित्तीय सेवा क्षेत्रका विभिन्न कम्पनीका सेयरसमेत ओटिसी बजारमा सक्रिय रूपमा कारोबार भएको देखिएको छ।