काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक रहेको तरलता व्यवस्थापन गर्न ऋणपत्रमार्फत एक सातामै १ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरिसकेको छ।
सोमबार थप १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेसँगै कुल संकलन १ खर्ब ८५ अर्ब रुपैयाँ पुग्ने भएको छ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४–छ’ शीर्षकमा सोमबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ।
यस अघि छुट्टाछुट्टै ६ चरणमा १ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरिसकेको राष्ट्र बैंकले चालु चरणमा कुल २ खर्ब रुपैयाँ बजारबाट एक वर्षका लागि झिक्ने योजना बनाएको छ। सोमबारको संकलनपछि बाँकी १५ अर्ब रुपैयाँका लागि पनि चाँडै सूचना प्रकाशित गरिने जनाएको छ।
राष्ट्र बैंकले बजारमा रहेको तरलता तत्काल आवश्यक नपर्ने आकलन गर्दै छोटो अवधिको सट्टा एक वर्षका लागि रकम व्यवस्थापन गर्न ऋणपत्रको माध्यम अपनाएको हो। यसअघि निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत अल्पकालीन तरलता व्यवस्थापन गर्दै आएको राष्ट्र बैंकले अहिले दीर्घ अवधिका लागि बजारबाट पैसा तानिरहेको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट तय हुनेछ भने प्रत्येक छ–छ महिनामा ब्याज भुक्तानी गरिनेछ। एक वर्ष पूरा भएपछि सावाँ फिर्ता गरिने व्यवस्था छ।
यो ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र खरिद गर्न पाउनेछन्। लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले उक्त ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिने जनाएको छ।