काठमाडौं ।केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेको भन्दै नबिल बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषण नगरिदिनुहुन बैंकले अनुरोध गरेको छ ।
भर्खरै राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको कारोबारका तथ्य सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएको भन्दै बैंकले आपत्ति जनाएको छ ।
“बैंक सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन,“ बैंकले भनेको छ ।
बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहने हुँदा कोही पनि भ्रममा नपर्न बैंकले आग्रह गरेको छ ।

यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको पनि जनाइएको छ । इजाजतपत्र प्राप्त ’क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको पनि बैंकले जनाएको छ ।

“बैंकिङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त हो। बैंकले यस सम्बन्धमा सधैं उच्चतम मापदण्ड तथा अभ्यासहरूको पालना गर्दै आइरहेको समेत जानकारी गराउन चाहन्छौं,“ बैंकले भनेको छ ।

सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गरेको छ ।
“नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ,“ बैंकले भनेको छ ।