काठमाडौं । नेपाल मेडिकल कलेजले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति डा. ओजश्वी शेरचनलाई सम्मान गरेको छ ।
आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि कलेजको बायोकेमेष्ट्री विभागकी पूर्व सह प्राध्यापक समेत रहनु भएकी समिति सभापति डा. शेरचनलाई सम्मान गरेको हो ।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन लगायतले सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रको ब्यापक सुधारका लागि आफुहरुले काम गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य बीमामा देखिएका समस्याहरु समाधानका लागि पनि आफुहरुले गृहकार्य गरिरहेको जिकीर गर्दै निजी क्षेत्रले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ठूलो टेवा दिएको चर्चा गर्दै सरकार र निजी क्षेत्र सँगसँगै अगाडी जाने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति समेत रहनु भएका कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुका समस्या समाधानमा सरकारले ठोस योजनाहरु बनाउनु पर्ने बताउनु भयो । सरकारले ल्याएका सबै प्रकारका स्वास्थ्य सेवाका कार्यक्रमहरु निजी क्षेत्रले सञ्चालन गरेपनि राज्यले त्यस अनुरुप निजी क्षेत्रलाई समेट्न नसकेको बताउँदै उहाँले स्वास्थ्य बीमा कार्यक्रम, गरिब, विपन्न नागरिकलाई दिने नि:शुल्क स्वास्थ्य सेवा लगायतमा देखिएका समस्याहरु निराकरणका लागि पहलकदमी लिन अनुरोध गर्नुभयो ।
यस्तै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले पनि निजी क्षेत्रले स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सरकारले निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति डा. शेरचनले चिकित्सा शिक्षा क्षेत्रका नितीगत र कानूनी समस्याहरु समाधान गर्न पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय लगायतले विभागीय प्रमुखहरुले शुभकामना दिनुभएको थियो ।
