काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ ।
अटोमोबाइल वर्कशपहरूमा शुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेर नाडाले गत बुधबार र बिहीबार सो कार्यक्रम आयोजना गरेको हो ।
इन्स्योर परियोजनासँगको सहकार्यमा आयोजना गरिएको ‘अकुपेसनल सेफ्टी एण्ड हेल्थ– ओएसएच’सम्बन्धी तालिममा नाडाका १२ सदस्य कम्पनीहरूबाट २० जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएको नाडाले जनाएको छ । विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी सो तालिममा जोखिम व्यवस्थापनलगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिहरूका सम्बन्धमा जानकारीहरू प्रदान गरिएको थियो ।
नेपालका ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । इन्स्योरसँगको सहकार्यमा नाडाले दुई वर्ष अघिदेखि अटोमोबाइलसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको नाडाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरू सञ्चालन गरेको हो ।
तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जिव कुमार राईले २० जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्यसमिति सदस्य प्रदीपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोकराज जोशीसमेतको उपस्थिति रहेको थियो ।
सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम को–अर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।
FACEBOOK COMMENTS