काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आगामी कार्यकालका लागि रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि श्रेष्ठको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
नेतृत्वमा निर्विरोध चयन भएपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई विश्वास गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
सहकोषाध्यक्षबाहेक सबै पदाधिकारी सर्वसम्मत
मुख्य निर्वाचन अधिकृत अरुण पौड्यालका अनुसार अध्यक्ष मात्र नभई कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरू समेत निर्विरोध चुनिएका छन् । आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि पदाधिकारीतर्फ निम्नलिखित व्यक्तिहरू निर्विरोध भएका हुन्:
उपाध्यक्ष: दुर्गाराज श्रेष्ठ, राजेन्द्र शेरचन र उज्वल जंग पराक्रम शाह

महासचिव: प्रेमहरि मैनाली

सचिव: सागर शाक्य

कोषाध्यक्ष: प्रदीपमान प्रधान
सहकोषाध्यक्षमा भने चुनावी सरगर्मी:
अन्य सबै पदहरू निर्विरोध भइसके पनि सहकोषाध्यक्ष पदका लागि भने २ जनाको उम्मेदवारी परेको छ । उक्त पदमा सुरेन्द्रभक्त श्रेष्ठ र शिशीर बहादुर गौतमले दाबी पेश गरेका छन् । यद्यपि, सो पदमा पनि निर्वाचन नगरी एक जनाको उम्मेदवारी फिर्ता गराएर सर्वसम्मतिको प्रयास भइरहेको बुझिएको छ ।
सदस्यहरू पनि निर्विरोध, वर्तमान अध्यक्ष पदेन सदस्य रहने
संघको कार्यसमिति सदस्यका लागि आवश्यक ११ जनाको कोटामा ११ जनाकै मात्र उम्मेदवारी परेपछि सबै सदस्यहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् । निर्विरोध हुने सदस्यहरूमा:
रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, पुपु तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल रहेका छन् ।
यसैगरी, संघका वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नयाँ कार्यसमितिमा पदेन कार्यसमिति सदस्यका रूपमा रहनेछन् ।
निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । आगामी जेठ ९ गते हुने संघको साधारणसभाबाट यो नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने कार्यक्रम रहेको छ ।