काठमाडौं । माया पनि किसिम–किसिमका हुन्छन्, मनदेखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मनदेखि गरेको मायामा छलकपट हुँदैन । यो साँचो र प्रगाढ हुन्छ, जहाँ स्वार्थ, लालच वा बनावटीपन रहँदैन । मनदेखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ । मनदेखि गरेको माया साँचो मायाको अर्को नाम हो, जुन कुनै शर्तमा आधारित हुँदैन । मनदेखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ ।
यसरी गहिरो भाव र सच्चा मनबाट गरेको मायाको कदर वा मूल्याङ्कन भएन अर्थात् जसलाई माया गरियो उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रिया गरेन, जब यस्तो अनुभव भयो तब उसको मनमा अब फेरि कसैलाई माया गर्ने चाहना नै हरायो । उसले आफूले गरेको मनैदेखिको मायामा विफलता वा अपमानित अनुभूतिपछि माया गर्ने रहर नै मरेको छ ।
मनदेखि गरेको माया कदर भएन
त्यसपछि त माया गर्ने रहर भएन ।।
यस शेरमा दुःख, निराशा र गहिरो चोटको अनुभूति छ । एक पटक साँचो माया गर्दा त्यसले चोट दियो भने मन फेरि त्यस्तो भावना दोहोर्याउन डराउँछ वा इन्कार गर्छ भन्ने भाव यस शेरमा व्यक्त गरिएको छ ।
आफैँ तर्किन खोज्यौ रहेन गुनासो
धोखेबाज भन्छौ भन्ने डर भएन ।।
आफूले मनैदेखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुक्र्याएर आफैँ तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र ? आफैँ तर्किएपछि एउटा पाटो सजिलो पनि बन्यो, आफूलाई धोखेबाजको आरोप आउला भन्ने डर पनि भएन । मनदेखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला तर्किन खोज्नु भनेको कुचोले बढार्नुपर्ने धुलो हावाले उडायो भनेझैँ हो ।
सरोज ‘सङ्गम’ रावलका गजलका शेरहरूले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरूलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम सङ्गीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा सङ्गीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडिओमा बबिना आफैँ फिचर्ड छिन् ।
गजलको ऐरेन्ज किरण कँडेलले गरेका छन् । गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड, मिक्सिङ र मास्टरिङ शम्भुकुमार तण्डुकारले गरेका हुन् । गजलको भिडिओ एजे अजुको निर्देशन र छायाङ्कमा निर्माण भएको हो । भिडिओको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् ।
गायिका तथा सङ्गीतकार बबिना भट्टराई वाद्यवादन समूहसँग वाद्यवादनसहित स्टेजमा रहेर गजल गाइरहेको भिडिओले गजलको महफिलको अनुभूति गरेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । बबिना आफैँ फिचर्ड भएको भिडिओमा यमुना पाण्डेले शृङ्गार दिएकी हुन् भने उपेन्द्र लिम्बूले की–बोर्ड, दीपक सापकोटाले तबला तथा जय बीकेले गितारमा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।
हेरौँ भिडिओ–
FACEBOOK COMMENTS