काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ जाँदैछन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका अवसरमा उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसङग समेत भेटवार्ता गर्र्र्नेछन् । उनले अमेरिकी कांग्रेस नेपाल ककसका सहअध्यक्ष कांग्रेस सदस्य माइक केरीसँग पनि भेटवार्ता गर्नेछन् ।
भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउनेछन् ।
नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् । परराष्ट्रमन्त्री कात्तिक १९ गते काठमाडौँ फर्कनेछन् ।
FACEBOOK COMMENTS