काठमाडौँ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ ।
यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन:अनुरोध गरिएको छ ।
नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरुले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यसअघि नै जनाएको थियो ।
मन्त्रालयले १८ मंसिर र ४ पुसमा प्रेस विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाएको छ ।
FACEBOOK COMMENTS