काठमाडौं । नुवाकोटको बेलकोटगढी–६ स्थित बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मत सम्पन्न भएको छ ।
पुलमा लठ्ठा सिध्याउने, लठ्ठाको झुकाइ मिलाउने, हात समात्ने तार परिवर्तन तथा नयाँ फलामे पाता र धरहरा जडानको काम पूरा भएको हो। जाली राखेपछि दुई दिनभित्र पुलबाट आवतजावत सञ्चालनमा आउने जनाइएको छ ।
रसुवा बाढीपछि हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । थप तीन वटा तुइन जडानको तयारी भइरहेको छ । त्यस्तै, बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा पुगेको छ भने थप सात वटा पुलको मर्मत सुरु भएको छ ।
मर्मतका लागि आवश्यक फलामे सामग्रीको पहिलो चरणको खरिद सम्पन्न भएको र दोस्रो चरणका लागि सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ । बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

