काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन् ।
उनले सबै नेपालीलाई सामाजिक सद्भाव कायम राख्न समेत आग्रह गरे । उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउने बताए ।
‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको प्रधानमन्त्रीले बताए । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न आग्रह गरे । नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व रहेको बताए ।
कुनै एक स्थानमा भएको घटनालाई लिएर सिंगो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसंगत नहुने दाबी गरे । उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी दिए।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै त्यसको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई समर्थन नगर्ने र सबै धर्मको मूल भावना करुणा, प्रेम, दया र शान्ति भएको उनको भनाइ थियो।
देशको कुनै एक स्थानमा भएको दुःखद घटनाका आधारमा कुनै एक समुदायलाई दोषारोपण गर्नु वा त्यसको प्रतिशोधका रूपमा अन्यत्र अशान्ति फैलाउनु कुनै पनि दृष्टिले उचित नहुने प्रधानमन्त्रीले बताए। उनले इतिहासले कठिन परिस्थितिमा नेपाली समाजलाई एकता, सहिष्णुता र विवेकले नै जोगाएको स्मरण गराउँदै अहिले पनि सबैले संयमता अपनाएर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरे।
सम्बोधनमा प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल तथा सञ्चार माध्यमलाई धैर्य, संयम र जिम्मेवारीका साथ प्रस्तुत भई मुलुकमा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।