काठमाडौं । प्रभु बैंकले स्वदेशमै रोजगारी सृजनाका लागि यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग सहकार्य गर्ने भएको छ ।
स्वदेशमै रोजगारीको सृजना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ बैंकले आज सोमबार यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग सम्झौता समेत गरेको छ ।
सम्झौता पत्रमा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसका प्रतिनिधि मार्कस मुलर र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले हस्ताक्षर गरेका छन् । स्वदेशमै रोजगारी सृजना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावरिङ एग्रो एण्ड टुरिजम इन्डष्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’नामक परियोजनाका लागि सो सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रूपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरूमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको बैंकका प्रमुख ग्लोबल मार्केट अधिकृत सुजिन शाक्यले जानकारी दिए ।