काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रले गम्भीर पीडा र चुनौती सामना गरिरहेको भन्दै कम्पनीले यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ।
कम्पनीका अनुसार आर्थिक सहयोगले पीडितले भोगेको अपूरणीय क्षति र पीडाको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको समयमा प्रभावित परिवार तथा समुदायसँगै उभिने प्रतिबद्धता, सहानुभूति र ऐक्यबद्धताको प्रतीकका रूपमा सहयोग गरिएको हो।

प्रभु इन्स्योरेन्सले विपद्बाट प्रभावित नागरिकहरू एक्ला नरहेको बताउँदै राहत तथा पुन:स्थापनाका लागि आवश्यक सहयोग र सहकार्य गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताए। उनले बाढीबाट प्रभावित बीमितहरूको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी रूपमा टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रभावित बीमितहरूले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको जनाएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहज रूपमा सहयोग उपलब्ध गराइने कम्पनीको भनाइ छ।
प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुन:स्थापनामा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक र विभिन्न सहयोगी संघसंस्थाप्रति सम्मान तथा आभार व्यक्त गरेको छ। साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुन:निर्माण तथा पुन:स्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने विश्वास पनि कम्पनीले व्यक्त गरेको छ।