काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा महँगी घटेको तथ्याङ्क सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा समग्र मुद्रास्फीति ५.२६ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।
गत साउनदेखि पुससम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३५.६० प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, फलफूलको १०.१५ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशतले बढेको छ ।
यस्तै समीक्षा महिनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमश: १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ ।
२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत, तराईको ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमश: ६.९३ प्रतिशत, ७.४९ प्रतिशत, ७.३० प्रतिशत र ६.६९ प्रतिशत रहेको थियो ।
२०८० कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.८२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमश: ६.१६ प्रतिशत, १.९९ प्रतिशत र २.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.०८ प्रतिशतले घटेको छ ।
केन्द्रीय बैंकको तथ्याङ्कअनुसार महँगी भारतमा भन्दा पनि नेपालमा तल झरेको छ । २०८० कात्तिक महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS