काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले नेपालमा अर्ग्यानिक (जैविक) कृषि, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्।
छलफलमा नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, बजारीकरण तथा उपभोग प्रवर्द्धनका साथै यस क्षेत्रका समस्या, चुनौती र सम्भावित समाधानका विषयमा विचार–विमर्श हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रसँग नियमित संवाद गर्दै उद्योग, व्यवसाय र लगानीमैत्री वातावरण निर्माणका लागि व्यवसायीका जायज माग सम्बोधन गर्दै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैक्रममा अर्ग्यानिक कृषि तथा उद्योग क्षेत्रका सरोकारवालासँगको छलफललाई पनि महत्वका साथ हेरिएको छ।