काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालले भेट गर्दै पुँजी बजार सुधारका विविध विषयमा छलफल गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै बजार विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।
भेटका क्रममा अध्यक्ष भट्टले नेपालको पुँजी बजारलाई अझ पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका लक्ष्यअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई अघि बढाइने स्पष्ट पारे।
उनले पुँजी बजारको दीर्घकालीन विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता र अन्य सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाइने बताए।
साथै बजारमा सुशासन कायम गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने तथा आधुनिक प्रविधिको प्रयोग बढाएर नेपालको पुँजी बजारलाई थप व्यवस्थित र विश्वासिलो बनाउने दिशामा बोर्डले सक्रिय भूमिका खेल्ने उल्लेख गरे।

यता स्टक ब्रोकर एसोसिएसनले पनि नयाँ नेतृत्वसँग सहकार्य गर्दै पुँजी बजारको विस्तार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। एसोसिएसनले बजारको दिगो विकासका लागि बोर्डसँग निरन्तर सहकार्य गर्ने विश्वास व्यक्त गरेको छ।
भेटका क्रममा सरकारको बजेटमा समेटिएका पुँजी बजारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत क्षमता अभिवृद्धि गर्ने विषयमा पनि विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले समन्वय र सहकार्यबाट नेपालको पुँजी बजारलाई थप आधुनिक, व्यवस्थित र लगानीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।