काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
मन्त्री किराँतीका ७६ बर्षीय पिता हर्कबहादुर राईको आज बिहान निधन भएको हो । पिताको आज निधन भएको मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’
राईको निधन भएपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत शोक व्यक्त गरेका हुन् ।
उनले ट्विटरमा लेखेका छन् ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’
