काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि आज साँझ ७ बजेदेखि कर्फ्यू हटाएको हो । प्रशासनले यसअघि आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो पारेको थियो । सुनसरी घटनाका कारण अवस्था अनियन्त्रित बनेपछि सिरहामा साउन १४ गतेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।
२- सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले चार स्थानीय तहमा भोली बिहान १० बजेसम्म निषेधाज्ञा कायम राखेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १८ गते बिहान १० बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ । प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ । यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको छ । प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको थियो ।
३- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई छुट्याइने सेयर अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै केही जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि रोकिँदा केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयबासीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने विषयमा छलफल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सोही व्यवस्था अनुरूप अंकित मूल्यमै सेयर उपलब्ध गराउनुपर्ने स्पष्ट गरेको छ। इप्पानका अनुसार जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो।
आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने तथा निर्माण अवधिका असुविधा व्यहोर्ने स्थानीयबासीलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याउने व्यवस्था गरिएको हो। विज्ञप्तिमा स्थानीयबासीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्वको भावना कमजोर हुने तथा आयोजना र स्थानीय समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्ने उल्लेख गरिएको छ। इप्पानले स्थानीयबासीलाई अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना बढ्ने, सामाजिक विवाद तथा अवरोध कम हुने र आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गरेको छ। यसबाट स्थानीय समुदायको आर्थिक सशक्तीकरण, स्थानीय विकास र सामाजिक सद्भावमा समेत सकारात्मक योगदान पुग्ने संस्थाको भनाइ छ। इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै प्रतिकित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउने व्यवस्था निरन्तर कायम राख्न आग्रह गरेको छ। साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्कासनमा भइरहेको ढिलाइ हटाई जलविद्युत क्षेत्रमा लगानीको वातावरण थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
४- इन्डोनेसियामा कम्तीमा २५० यात्रु बोकेको एक यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मदुरा टापुनजिक समुद्रमा जहाजमा आगलागी भएको हो। उक्त पानीजहाज पूर्वी जाभाको इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाबाट दक्षिण सुलावेसीको मकासरतर्फ जाँदै थियो । जहाजका कप्तानले समुद्रमा यात्रा गरिरहेका बेला आगलागी भएको जानकारी दिएका थिए । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा ठूलो संख्यामा यात्रुहरू जीवनरक्षक ज्याकेट लगाएर उद्धारको प्रतीक्षामा रहेको देखिएको छ। केही दृश्यमा आगो र बाक्लो धुवाँ निस्किरहेको जहाजबाट यात्रुहरू बाहिर निस्कने प्रयास गरिरहेको देखिन्छ ।
राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार बिहान ८: २४ बजे सुराबाया उद्धार कार्यालयले केएमपी मुटियारा सेन्टोसा–२ नामको यात्रुवाहक पानीजहाजमा आगलागी भएको सूचना प्राप्त गरेको थियो । जहाज सञ्चालन कम्पनीको जानकारीअनुसार बिहान करिब ६ बजेदेखि ७ बजेको बीचमा आगलागी सुरु भएको थियो । पछि उद्धार निकायले जहाज लगभग पूर्ण रूपमा आगोको चपेटामा परेको र उद्धारको प्रतीक्षामा यात्रुहरू जहाजको अगाडिको भाग र माथिल्लो क्षेत्रमा बसेको जनाएको छ । सार्वजनिक भएका केही दृश्यमा केही यात्रुहरू समुद्रमा हाम फालेको देखिएको छ। जीवनरक्षक ज्याकेट लगाएका यात्रुहरू समूहमा जम्मा भएको र उद्धार टोलीले उनीहरूलाई उद्धार जहाजमा लगिरहेको दृश्य पनि देखिएको छ । घटनास्थलमा उद्धार तथा बेपत्ता यात्रुको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
५- भारतका तीव्र गतिका बलर जसप्रित बुमराह श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजबाट बाहिरिएका छन् । दुई टोलीबीचको पहिलो टेस्ट साउन ३० गते (अगस्ट १५) देखि गालमा सुरु हुनेछ । बायाँ घुँडाको चोटबाट पूर्ण रूपमा निको हुन नसकेपछि बुमराहले सिरिज गुमाउने भएका हुन् । उनी हाल भारतीय क्रिकेट नियन्त्रण बोर्डको बेंगलुरुस्थित उत्कृष्टता केन्द्रमा पुनःस्थापना प्रक्रियामा रहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बोर्डको चिकित्सक टोलीले बुमराहलाई अहिले नै मैदानमा फर्कन नहुने सुझाव दिएको छ । पूर्ण रूपमा फिट नभएसम्म आराम गर्न उनलाई सल्लाह दिइएको छ । बुमराह इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृङ्खलाका क्रममा घाइते भएका थिए। चोटकै कारण उनले उक्त सिरिजको अन्तिम खेल पनि गुमाएका थिए । ३२ वर्षीय बुमराहलाई यसअघि श्रीलंका भ्रमणका लागि घोषित १५ सदस्यीय टोलीमा समावेश गरिएको थियो ।
तर उनको सहभागिता स्वास्थ्य अवस्थामै निर्भर रहने बताइएको थियो । बुमराहको अनुपस्थितिमा मोहम्मद सिराजले भारतीय तीव्र गतिका बलिङ आक्रमणको नेतृत्व गर्ने अपेक्षा गरिएको छ । टोलीमा प्रसिद्ध कृष्णा र गुरनूर बरार पनि समावेश छन् । बरारले भने अहिलेसम्म टेस्ट क्रिकेटमा पदार्पण गरेका छैनन् । बुमराहले श्रीलंकाविरुद्ध हालसम्म दुई टेस्ट खेलेका छन्। ती खेलमा उनले १० विकेट लिएका छन् भने एक इनिङ्समा पाँच विकेट लिने उपलब्धि पनि हासिल गरेका छन्। भारत र श्रीलंकाबीच हालसम्म १७ वटा टेस्ट सिरिज भएका छन् । त्यसमध्ये भारतले १० शृङ्खला जितेको छ भने श्रीलंकाले तीन शृङ्खलामा सफलता पाएको छ। चार शृङ्खला बराबरीमा सकिएका छन् । श्रीलंकाले सन् २००८ यता भारतविरुद्ध कुनै पनि टेस्ट सिरिज जित्न सकेको छैन। यससँगै भारतविरुद्ध टेस्ट सिरिज जित्न उसले करिब १८ वर्षदेखि प्रतीक्षा गरिरहेको छ ।
६- पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले साउन १४ गते क्याम्प-२ बाट क्याम्प-३ तर्फ जाँदै गर्दा करिब ६ हजार ६ सय मिटर उचाइमा गएको विनाशकारी हिमपहिरोमा प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको जनाएको छ । मन्त्रालयले उक्त घटनाबाट नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । विज्ञप्तिअनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरेका थिए।
उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहस र समर्पणप्रति मन्त्रालयले प्रशंसा व्यक्त गरेको छ । हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको शव उद्धारका लागि प्रयास जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयका अनुसार मृतक आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउने प्रक्रियाका लागि इस्लामाबादस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । नेपाल सरकारले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
७- रुसले पछिल्लो समय गरेको क्षेप्यास्त्र र मानवरहित विमान आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र युरोपेली मुलुकसँग तत्काल ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । उनले ती क्षेप्यास्त्र मानिसको ज्यान बचाउनका लागि आवश्यक भएकाले गोदाममा थन्क्याएर राख्नुको सट्टा युक्रेन पठाउनुपर्ने बताएका छन् । शनिबार राति रुसले राजधानी किभसहित विभिन्न सहरमा व्यापक आक्रमण गरेको थियो। युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले रातभर ३५ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन्। तीमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रहेका थिए। साथै १८५ देखि १९० वटासम्म मानवरहित विमान पनि प्रहार गरिएको उनले बताएका छन् । उनका अनुसार ‘प्याट्रियट’ प्रणालीका अवरोधक क्षेप्यास्त्रको मौज्दात लगभग सकिएकाले युक्रेनले एउटा मात्रै ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सकेको हो ।
जेलेन्स्कीले अमेरिका र युरोपलाई युक्रेनलाई आवश्यक सैन्य सहयोगबारे जानकारी रहेकाले अब तत्काल राजनीतिक निर्णय गरेर थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउनुपर्ने बताएका छन् । उनका अनुसार प्रत्येक दिनको ढिलाइले रुसलाई थप युक्रेनी नागरिकको ज्यान लिन अवसर मिलिरहेको छ । उनले रुसले अहिले जेट इन्जिनयुक्त ‘शाहेद’ मानवरहित विमानको प्रयोग बढाउँदै लगेको दाबी गर्दै युद्ध लम्बिँदै जाँदा नयाँ आक्रमण रणनीति विकास गरिरहेको बताएका छन् । युक्रेनी राष्ट्रपतिले अमेरिका र युरोपेली सहयोगी राष्ट्रहरूलाई रुसको क्षेप्यास्त्र, प्रक्षेपण प्रणाली र हतियार उद्योगसँग सम्बन्धित व्यक्ति तथा कम्पनीमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् । यसका साथै रुसको तेल प्रशोधन तथा इन्धन क्षेत्रलाई प्राप्त सहयोग रोक्न सके त्यसको युद्ध सञ्चालन क्षमता कमजोर पार्न सहयोग पुग्ने उनले बताएका छन् ।
८- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ। पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
९- काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेर मृत्यु भएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ । पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५७ सय मिटर उचाइमा निम्सदाइको शव फेला परेको जानकारी दिएको छ । सो स्थानमा अन्य तीन शव पनि फेला परेको एसीपीले उल्लेख गरेको छ । उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको पहिचान भने नभएको जनाएको छ । हिमपहिरोमा परेर ६ नेपाली आरोहीसहित कुल १० आरोही बिहीबार बिहानदेखि सम्पर्क विहिन भएका थिए । यसअघि शनिबार आरोहण कम्पनी एलिट एक्सपेडले ब्रोड पिक आरोहणमा गएका सबैको मृत्यु भएको पुष्टि गरेको थियो ।
१०- नेपाली कांग्रेसभित्र सहकार्य र एकता सुदृढ गर्न पार्टीका युवा नेताहरूले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतका युवा नेताहरुको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ । आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ ।
अभियानका अगुवाहरूले नेपाली काँग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणाली समेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् । उनीहरुले यो अभियान कुनै व्यक्ति, गुट वा पद केन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन् । कार्यक्रमममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।
त्यस्तै पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए । उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए । भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । काँग्रेसको संस्थापन इतर समुहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरेपछि पार्टी विभाजनको संघारमा पुगेको छ । इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन समेत गरेको छ ।
११- दक्षिण अमेरिकी मुलुक पेरुमा शनिबार एक सानो पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम र पेरुका अधिकारीहरूका अनुसार सेस्ना क्याराभान सि–२०८ विमान विश्वप्रसिद्ध नाज्का रेखामाथि पर्यटकलाई हवाई भ्रमण गराइरहेका बेला दुर्घटनामा परेको हो । विमानमा ११ जना पर्यटक र दुई जना चालक सवार थिए। पेरुको सरकारी समाचार संस्थाका अनुसार मृत्यु हुनेमा दुई जर्मनी, दुई स्पेन र सात इटालीका नागरिक रहेका छन् ।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी अधिकारीहरूले दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार हुने सम्भावना नरहेको बताएका छन् । हालसम्म चार जनाको शव फेला परिसकेको जनाइएको छ । स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का रेखामाथि पर्यटकलाई हवाई अवलोकन गराइरहेका बेला दुर्घटनामा परेको थियो ।
अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमान स्थानीय वायुसेवा कम्पनी एरोडियानाको थियो। कम्पनीले सम्बन्धित निकायको निर्देशनअनुसार आफ्ना उडान तालिकाको समीक्षा गर्ने जनाएको छ । नाज्का रेखा क्षेत्रमा पर्यटक विमान दुर्घटना हुने यो पहिलो घटना भने होइन । सन् २०२२ मा यस्तै एक सानो पर्यटक विमान दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने सन् २०१० मा भएको अर्को दुर्घटनामा छ जनाले ज्यान गुमाएका थिए । नाज्का रेखा पेरुको प्रमुख पर्यटकीय गन्तव्य हो । मरुभूमिको सतहमा हजारौँ वर्षअघि बनाइएका विशाल आकृतिका कारण यो क्षेत्र प्रसिद्ध छ । यसलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको छ । यी विशाल आकृतिको अवलोकन गर्न पर्यटकहरूले प्रायः साना विमानमार्फत हवाई भ्रमण गर्ने गर्छन् ।
१२- जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिएका छन् । कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
१३- सन् २०२७ अगस्ट २ मा विश्वले २१औँ शताब्दीकै सबैभन्दा लामो पूर्ण सूर्यग्रहण अवलोकन गर्ने अवसर पाउने भएको छ । खगोलविद्हरूका अनुसार यस दिन चन्द्रमाले सूर्यलाई पूर्ण रूपमा ढाक्नेछ र केही स्थानमा करिब ६ मिनेट २३ सेकेन्डसम्म दिनकै समयमाअन्धकार छाउनेछ । पूर्ण सूर्यग्रहणका बेला तापक्रम केही घट्ने, आकाशमा केही तारा र ग्रह देखिन सक्ने तथा सूर्यको बाहिरी चम्किलो तह नाङ्गो आँखाले अवलोकन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् । उनीहरूका अनुसार यो यस शताब्दीको सबैभन्दा महत्वपूर्ण खगोलीय घटनामध्ये एक हुनेछ । यो पूर्ण सूर्यग्रहण अटलान्टिक महासागरबाट सुरु भई दक्षिणी स्पेन, जिब्राल्टर, मोरक्को, अल्जेरिया, ट्युनिसिया, लिबिया, इजिप्ट, सुडान, साउदी अरब, यमन र सोमालियासम्म पुग्नेछ । पूर्ण ग्रहणको सबैभन्दा लामो अवधि इजिप्टको लक्सर आसपास देखिनेछ, जहाँ करिब ६ मिनेट २३ सेकेन्डसम्म पूर्ण अन्धकार रहने अनुमान गरिएको छ । यही कारण यसलाई २१औँ शताब्दीकै सबैभन्दा लामो पूर्ण सूर्यग्रहण मानिएको हो ।
वैज्ञानिकहरूका अनुसार ग्रहणका बेला चन्द्रमा पृथ्वीको अपेक्षाकृत नजिक हुने भएकाले सामान्यभन्दा ठूलो देखिनेछ र सूर्यलाई लामो समयसम्म पूर्ण रूपमा ढाक्न सक्नेछ । त्यसैबेला पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको अवस्थाको नजिक रहने भएकाले सूर्य सामान्यभन्दा केही सानो देखिनेछ। यी दुई खगोलीय अवस्थाको दुर्लभ संयोगका कारण पूर्ण सूर्यग्रहणको अवधि सामान्यभन्दा निकै लामो हुने बताइएको छ । यो पूर्ण सूर्यग्रहण नेपालबाट भने देख्न पाइने छैन । यद्यपि युरोप, अफ्रिका र पश्चिमी एसियाका करोडौँ मानिसले पूर्ण वा आंशिक सूर्यग्रहण अवलोकन गर्न सक्नेछन् । अनुमानअनुसार विश्वभर चार अर्बभन्दा बढी मानिसले प्रत्यक्ष वा आंशिक रूपमा यो ग्रहण हेर्ने अवसर पाउनेछन् । पूर्ण ग्रहणका केही मिनेट दिनको उज्यालो साँझजस्तै अँध्यारो हुनेछ । तापक्रम केही घट्नेछ भने केही चम्किला तारा र ग्रह पनि देखिन सक्नेछन् ।
यही समयमा सूर्यको बाहिरी तह नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । साथै ‘बेलीको माला’ र ‘हीराको औँठी’ भनेर चिनिने दुर्लभ दृश्य पनि देख्न सकिने वैज्ञानिकहरूले बताएका छन् । यी दृश्य चन्द्रमाको सतहका खाल्डाखुल्डीबाट सूर्यका किरण छिर्दा देखिन्छन् । विशेषज्ञहरूले पूर्ण ग्रहणको अत्यन्त छोटो समयबाहेक सूर्यलाई सिधै हेर्नु आँखाका लागि खतरनाक हुने चेतावनी दिएका छन् । त्यसैले सूर्यग्रहण हेर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित गरिएको विशेष सौर्य चस्मा मात्रै प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । सामान्य घामको चस्माले आँखाको सुरक्षा नगर्ने पनि उनीहरूले बताएका छन् । लामो अवधिको पूर्ण ग्रहण, सफा आकाश भएका क्षेत्रमाथि यसको मार्ग र ऐतिहासिक स्थलहरूबाट अवलोकन गर्न सकिने भएकाले यो घटना खगोल विज्ञानका लागि निकै महत्वपूर्ण मानिएको छ । वैज्ञानिकहरूले यसलाई खगोलीय घटनाको अध्ययन गर्ने अवसरका रूपमा यसलाई लिएका छन् भने ग्रहण पर्यटनका लागि पनि स्पेनदेखि इजिप्टसम्मका क्षेत्र प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ । धेरै मानिसका लागि यो जीवनकै सबैभन्दा लामो र अविस्मरणीय पूर्ण सूर्यग्रहण बन्न सक्ने विश्वास गरिएको छ ।
१४- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान संशोधन गर्न चाहेको भए त्यसअघि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने बताएका छन् । उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् । महासचिव पोखरेलले अहिले संविधान संशोधनको उचित समय नरहेको भन्दै यस विषयमा सरकार अघि बढ्नुअघि राजनीतिक सहमति सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँग द्रुत रूपमा सम्झौता गर्न सकिने अवस्था बने आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका हुन् । उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश रहनेछ । ट्रम्पले उक्त निर्णय इजरायलसँगको समन्वयमा गरिएको बताएका छन् । यो घोषणा अमेरिकी सञ्चारमाध्यमहरूले सप्ताहान्तमा इरानमाथि थप शक्तिशाली आक्रमणको तयारी भइरहेको समाचार सार्वजनिक गरेलगत्तै आएको हो ।
यसअघि इरानले अमेरिकामाथि क्षेत्रीय तनाव बढाएको आरोप लगाउँदै वासिङ्टनसँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक युद्धको आगोमा तानिने चेतावनी दिएको थियो । ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य शक्ति प्रयोग गर्न तयार अवस्थामा रहेको दाबी गर्दै इरान र मध्यपूर्वका केही मुलुकको आग्रहपछि सम्झौताका लागि अवसर दिन आक्रमण स्थगित गरिएको बताएका छन् । उनले सम्झौताका आधारभूत विषयमा सहमति नजिक पुगेको संकेत पनि गरेका छन् । यद्यपि ट्रम्पको घोषणाप्रति इरानले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १८ सयले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर तोलाको ४३१५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४३६० मा कारोबार भएको थियो ।
१७- पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । पोखरा २२ कोदीमा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । प्रमुख आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार आजको आवश्यकता भएको बताए । उनले रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्द्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा जोड दिदै उनले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गरेका थिए । सो अवसरमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । १७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्नुभएका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ का कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो । महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ ।
महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने, ४८ सय मेक्ट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । बजारमा माग बढिरहेका बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको कडरियाले बताए । महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
१८- रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टमा घरेलु रूपमा बनाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार साँझ करिब ८ बजे सहरको केन्द्रनजिकै रहेको कुद्रिन्स्काया चोकमा उक्त विस्फोट भएको हो । राष्ट्रिय आतंकवादविरोधी समितिले विस्फोटक पदार्थ बोकेकी एक महिलाले रेस्टुरेन्टभित्र प्रवेश गर्ने प्रयास गरेकी थिइन् । तर सुरक्षाकर्मीले उनलाई रोकेपछि उनले बोकेको विस्फोटक पदार्थ विस्फोट भएको जनाएको छ । विस्फोटमा ती महिलासहित सुरक्षाकर्मी र रेस्टुरेन्टका एक सेवाग्राहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्टालिनकालीन प्रसिद्ध अग्ला भवनमध्ये एकमा रहेको उक्त रेस्टुरेन्टमा त्यसबेला निजी कार्यक्रम आयोजना भइरहेको थियो ।
अधिकारीहरूले कार्यक्रममा सहभागीहरूको विवरण सार्वजनिक गरेका छैनन् । साथै आक्रमणको लक्ष्य को थियो भन्नेबारे पनि कुनै जानकारी दिएका छैनन् । प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि रगतले लतपतिएका मानिसहरूलाई घटनास्थलबाट बाहिर निकालिएको थियो । सुरुमा विस्फोट रेस्टुरेन्टको भान्सामा भएको खबर आएको भए पनि रेस्टुरेन्टले पछि जारी गरेको विज्ञप्तिमा समस्या भवनबाहिर भएको जनाएको छ ।
घटनापछि कुद्रिन्स्काया चोक वरपरका सडक केही समयका लागि बन्द गरिएको थियो । रुसी सरकारी समाचार संस्थाले सार्वजनिक गरेको दृश्यमा घटनास्थलमा भारी हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको तथा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको देखिएको छ । हालैका वर्षहरूमा मस्को र आसपासका क्षेत्रमा रुसी सेनाका उच्च अधिकारीहरूमाथि भएका केही घातक आक्रमणका घटनाका लागि रुसले युक्रेनलाई जिम्मेवार ठहराउँदै आएको छ । तर यस घटनासँग सम्बन्धित कुनै पक्षको संलग्नताबारे अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरिएको छैन ।
१९- आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक लिने-दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सबै उपभोक्तासँग आग्रह गरेको छ । विभागले नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बीजक लिएका योग्य उपभोक्ताले २०८३ साउन १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण विभागको प्रणालीमा प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
यसका लागि विभागले https://prize.ird.gov.np मार्फत दर्ता गर्ने व्यवस्था खुला गरेको जनाएको छ । विभागका अनुसार भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट २०८३ साउन १ गतेदेखि भएका खरिद भने यस उपहार कार्यक्रममा स्वतः समावेश हुनेछन् । त्यसैले त्यस्ता खरिदका बीजकको विवरण छुट्टै प्रणालीमा प्रविष्ट गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ ।
विभागले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन र समयमै आवश्यक विवरण प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । आन्तरिक राजस्व विभागले जारी गरेको कार्यविधिअनुसार प्रत्येक दिन एक जना चिठ्ठामा छनोट हुने विजेताले एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, पाक्षिक रुपमा एक जना विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ । पुरस्कार रकममा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर भने कट्टी गरिनेछ । पाक्षिक विजेताको छनौट हरेक महिनाको १ गते र १६ गते गरिने बताइएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेका वस्तु वा सेवाको वैधानिक कर बिजक सुरक्षित राख्नुपर्नेछ। विजेता घोषित भएपछि १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक जाँचपछि १० दिनभित्र पुरस्कार वितरण गरिने कार्यविधिमा उल्लेख छ ।
२०- साफ च्याम्पियनसिप २०२६ को समूह चरणको ड्र सम्पन्न भएको छ । साफको समूह ए मा बंगलादेश, श्रीलंका र भुटान छन् । समूह बी मा भारत, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल भने फिफाको निलम्बनमा रहेका कारण ड्र मा सहभागी गराइएको छैन । तर नेपालको निलम्बन फुकुवा भएको अवस्थामा समूह ए मा रहने दक्षिण एशियाली फुटबल महासंघले जनाएको छ । प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा आगामी कात्तिक १८ देखि मंसिर १ गते (नोभेम्बर ४-१७) सम्म सञ्चालन हुनेछ ।