काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १२१ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको अपडेट अनुसार भारतका ८५, चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २ र इटालीका २ जना नागरिकको उद्धार गरिएको छ ।
त्यस्तै बुल्गेरियाका १ र स्विट्जरल्यान्डका १ जना तथा राष्ट्रियता पुष्टि हुन बाँकी ३ जनाको समेत उद्धार गरिएको बोर्डले जनाएको छ ।
बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास जारी छ ।
आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्क विहिन रहेको जानकारी दिएको थियो ।