काठमाडौं । नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा आज बसेको छ।
सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई आज बस्ने बैठकले अन्तिम रूप दिनेछ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ।
गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको ११ औं महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।
फागुन २१ को निर्वाचनमाकेन्द्रित भएर काम गर्न केन्द्रीय सदस्य तथा पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो।
यस पटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागहरूमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।
