काठमाडौं, माघ २६ – कांग्रेस नेता गगन थापाले गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद् विघटन हैन्, संविधान विघटन गरेको टिप्पणी गरेका छन् ।
कांग्रेस पर्साले वीरगन्ज महानगरपालिकाको बगहीमा आइतबार आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा युवानेता थापाले भने, ‘पुस ५ को असंवैधानिक कदमलाई हामीले सच्याउन सकेनौं भने संकट गहिरिँदै जान्छ, एउटा पुस्ता खेर जान्छ । यो संसद् विघटन हैन, यो संविधानको विघटन हो ।’
कांग्रेसका कैयौं पुस्ताको जवानी प्रजातान्त्रिक अधिकार प्राप्त गर्नमा गएको छ । कांग्रेसका नेता तथा कार्यकर्तालाई सोध्यो भने, कांग्रेसका प्रत्येक पुस्ताले प्रजातान्त्रिक अधिकार प्राप्त गर्नमा जवानी खेर गएको बताउँछन्,’ नेता थापाले भने, ‘अधिकार कतिपल्ट प्राप्त गर्ने, कतिपल्ट गुमाउने । फेरि लड्ने, फेरि प्राप्त गर्ने । यो चक्रलाई हामीले निरन्तर लिएर गइराख्ने हो कि हामीले एकपल्ट प्राप्त गरेको कुरालाई जोगाउने पनि हो । यो पल्ट गुमाउने काम नगरौं ।’
प्रधानमन्त्रीको प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न आवश्यक रहेको उनले औंल्याए । ‘कुनै बेला एउटा नेपाली नागरिकको देशभक्तिको भावनासँग खेलेका प्रधानमन्त्री आज त्यो धार भुत्ते भएपछि भगवानप्रतिको आस्थासँग खेल्ने प्रयास गर्दैछन्,’ उनले भने ।
विगतको अनुभवबाट सिकेर नै संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै पनि धारा नराखेको थापाले दाबी गरे । ‘अदालतले विवेक पुर्याउँछ, न्याय गर्छ,’ उनले भने, ‘कांग्रेसले जुन संविधान पढेर संसद् विघटनको कदमलाई असंवैधानिक भनेको हो, अदालतले पढ्ने संविधान पनि यही हो, अर्को संविधान छैन । यही संविधान पढ्ने हो, यो संविधानमा त्यस्तो एउटा पनि धारा छैन, बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने ठाउँ कहीँ पनि हामीले दिएका छैनौं, लेखेका छैनौं । संविधानमा यो व्यवस्था गरिएको हुनाले अदालतले पनि यही संविधान पल्टाउने हो ।’

काठमाडौंमा अहिले कम्युनिस्टहरुको तमासा भइरहेको भन्दै कटाक्ष गरेका थिए । ‘काठमाडौंमा एकातिर पोलमा टाँगिएको ठूल्ठूलो तस्बिर देखिनु हुन्छ । तस्बिरमा प्रधानमन्त्री झुन्डिराख्नु भएको छ । प्रधानमन्त्री हो कि पोलमन्त्री छुट्याउन गाह्रो हुने गरी काठमाडौंको पोल पोलमा प्रधानमन्त्री झुन्डिरहनु भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको फोटो देखेर तर्सिएर भागेर अर्को गल्लीमा कम्युनिस्टका ठूल्ठूला नेताहरु भुइँमा बसेर हामी यहाँ छौं भन्ने लेखेर बसिरहेको देख्नु हुन्छ ।’

यता गए कम्युनिस्ट उता गए कम्युनिस्ट । घरमा गएर टेलिभिजन खोल्यो त्यहाँ पनि कम्युनिस्ट नै देखिन्छ । एउटा कम्युनिस्टले यो त चोरै हो, अर्को टेलिभिजन खोलर हेर्यो अर्कोले झन् त्यो त महा चोर हो । एकछिनका लागि रमाइलो पनि लाग्ला । तर, यो रमाइलोभित्रको केही कुरा नेपाली कांग्रेसले बुझ्नुपर्ने हुन्छ । यो सतहमा देखिएको जस्तो सामान्य राजनीतिक घटना मात्र हैन् । यो गहिरो संकट हो ।

‘यो संकटलाई हामीले छिचोल्न सकेनौं भने त्यस्को ठूलो मूल्य कांग्रेस र सिंगो देशले चुकाउनु पर्छ,’ उनले भने, ‘तपाईं हामी सबैले चुकाउनु पर्छ । अहिलेको यो संकट गहिरिँदै गयो भने त हामी आफ्नै सपनाको मलामी जानुपर्ने हुन्छ ।’