काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं उपत्यकाबाटै कम राजस्व उठिरहेको सन्दर्भमा आन्तरिक राजस्व विभागका हाकिमहरुलाई प्रश्न गरेका छन् ।
बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले वर्तमान समस्याबाट ठूला व्यावसायिक घराना त्यति धेरै प्रभावित नभएको भन्दै काठमाडौं उपत्यकाबाट कम राजस्व उठेको बारे प्रश्न गरेका हुन् ।
राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा उनले भने, ‘हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’
राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन् । यस पटक राजस्व निक्कै कम संकलन भएकोले त्यसलाई बढाउने गरी काम गर्न उनले निर्देशन दिए ।
यद्यपी उनले राजस्वमा कमी आउनुमा राजस्वका कर्मचारीको मात्रै दोष नभइ राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारण भएको पनि बताए । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन हुने महतले बताए ।
‘काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन’, उनले भने ।
बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिने दिने कार्यको विकास, कर्मचारीमा नैतिकता र ईमानदारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरूरी रहेकाे उनकाे भनाइ थियाे । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु होला ।
झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन् तर साना व्यवसायी धेरै प्रभावित भएका छन् ।
FACEBOOK COMMENTS