काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहमा उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताए ।
उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताए । उनले भने “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए ।
संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताए ।
“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उनले भने, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक(पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”
उनले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताए । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उनले भने ।
FACEBOOK COMMENTS