काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाह ४ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नौ महिनाको तथ्याङ्कीय प्रतिवेदनले कर्जा प्रवाह बढेको देखाएको हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रू. २२२ अर्ब २१ करोड अर्थात् ४ दशमलव ६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रू. १६१ अर्ब ९८ करोड अर्थात् ३ दशमलव ५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।
यस्तै, २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो । यसैगरी, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।
प्रतिवेदन अनुसार २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले र हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।
क्स्तो छ, निक्षेप परिचालनको अवस्था ?
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू. ४०९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रू. ३५५ अर्ब ८९ करोड (७.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो ।
२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो ।
मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक (पूर्णपाठ)
FACEBOOK COMMENTS