काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घरधुरी अग्नि पीडितहरूलाई राहतस्वरूप खाद्यान्न सामग्रीलगायत लत्ता कपडाहरू वितरण गरेको छ ।
गत वैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपायाहरू जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरूलाई सानै भएता पनि सहयोग गर्न पाउँदा पीडितहरूको दिनचर्यामा केही दिनका लागि भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ ।
पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी गराएको छ ।
FACEBOOK COMMENTS