काठमाडौं । नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शहरी कौशी खेती तालिम आयोजना गर्ने भएको छ ।
पार्टी काम र संगठन विस्तारसँगै विशेषगरी गृहिणीहरूलाई लक्षित गरी भोलि शनिबारदेखि शहरी कौशी खेती तालिम आयोजना गर्न लागिएको सम्पर्क मञ्चले बताएको छ ।
सोमबारसम्म चल्ने तीन दिने शहरी कौशी खेती तालिममा भान्सामा खेर जाने विविध वस्तुहरूको प्रयोगबाट कसरी घरमै तरकारी तथा तरकारीजन्य वस्तुहरू उत्पादन गर्न सकिन्छ भनेर सिकाउने उद्देश्य राखिएको दोलखा काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष सरिता शिबाकोटीले बताइन् ।
घरमै बसेर फुर्सदको समयमा काम गर्दा पनि केही तरकारी उत्पादन गर्न सकियो भने पनि दैनिक खर्चमा कटौती हुनाका साथै त्यसबापतको रकम बचत गर्न सकिने भएकाले यो तालिम लिनु आवश्यक रहेको उनको भनाइ छ । ‘घर हुने वा डेरामा बस्नुहुने सबै दोलखावासीका लागि लक्षित गरेर यो तालिम कार्यक्रम आयोजना गरेका हौँ,’ उपाध्यक्ष शिबाकोटीले भनिन्, ‘घर हुनेले सिकेको सिपलाई तत्काल कार्यान्वयन गर्न सक्नुहुनेछ भने डेरामा बस्नुहुनेले पनि सिकेर सोही प्रकृतिको खेती गर्न सक्नुहुनेछ ।’ कुनै पनि सिप सिकेर खेर नजाने उनको भनाइ छ ।
काठमाडौं बस्ने घरवाला होस् वा डेरावाल उनीहरू सबैले धेरै खर्च तरकारीमा गरिरहेको तथा पैसा खर्च गर्दा पनि अर्गानिक तरकारी पाउन मुस्किल परिरहेको परिप्रेक्ष्यमा कौशीमा गरिने तरकारी खेतीले केही छाक भए पनि अर्गानिक तरकारी र तरकारीजन्य उत्पादनको प्रयोग गर्न पाइने उनको भनाइ छ ।
तीन दिनसम्म चल्ने तालिम कार्यक्रमको सुरू दिन भोलि उद्घाटन र परिचयात्मक कार्यक्रम तथा सैद्धान्तिक ज्ञानका बारेमा छलफल हुने छ भने आइतबार र सोमबार प्रयोगात्मक कार्य गरिने उपाध्यक्ष शिबाकोटीले जानकारी दिइन् । उनका अनुसार उद्घाटन समारोहमा मञ्चले तयार पारेको वि.स. २०८१ सालको भित्तेपात्रो विमोचन गर्ने पनि कार्यक्रम छ ।
कौशी खेती गरेर चर्चा कमाइरहेकी कल्पना बस्नेतले तीन दिनसम्म तालिम प्रदान गर्ने बताइएको छ । दोलखाको जिरी घर भएकी बस्नेत नेकपा एमाले बागमती सम्पर्क कमिटीकी सदस्य समेत हुन् । तालिम काँडाघारीस्थित सनसिटी चोकमा अवस्थित ट्वान्टी फर्स्ट रेष्ट्रोमा सञ्चालन गरिने छ ।
FACEBOOK COMMENTS