काठमाडौं । चाडपर्व सुरू हुनुपूर्व नै चिनीमा कृत्रिम मूल्यवृद्धि सुरू भएको छ ।
व्यापारीले आफूखुसी मुल्य बढाएको कारण चिनीको मूल्य प्रतिकिलो एक सय रूपैयाँबाट ११५ रूपैयाँ पुगेको छ ।
विगतका वर्षमा पनि चाडपर्वअघि चिनीको कृत्रिम अभाव देखाएर व्यवसायीहरूले मूल्य बढाउने गर्थे । यो वर्ष विगतको भन्दा पहिलेनै चिनीको मूल्य आकाशिएको छ ।
खुद्रा व्यापारीहरूका अनुसार दुई साताअघि चिनी प्रतिकिलो ९५–१०० रूपैयाँ थियो । अहिले बजारमा १ सय १५ रूपैयाँसम्म पुगेको छ । खुद्रा व्यवसायी संघका महासचिव अमुल तुलाधरले पछिल्लो समय चिनीको मूल्य बढेको बताएका छन् ।
बजारमा चिनी पर्याप्त हुँदाहुँदै पनि मूल्य बढेको छ । थोक बजारमै चिनीको मूल्य बढेपछि त्यस्को असर बजारमा परेको खुद्रा व्यापारीहरूले बताएका छन् । अहिले थोक बजारमा प्रतिकिलो १०९ रूपैयाँ चिनीको मूल्य पुगेको छ । त्यसमा ढुवानी भाडा र केही नाफा जोड्दा ११५ रूपैयाँसम्म पुग्ने खुद्रा व्यापारीहरूले बताएका छन् ।
पछिल्ला दिनमा दैनिक उपभोग्य वस्तु चिनीसहित चिनीसँगै सबै खाद्यवस्तुको मूल्य बढेको छ । व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्य लिएर कालाबजारी गरी उपभोक्तालाई अनवश्यक रूपमा ठगि गर्ने कार्य गरिरहेका छन् । दाल, गेडागुडी, चामल, तरकारी लगायतका धेरै वस्तुमा अस्वाभाविक रूपले मूल्य १० देखि ५० प्रतिशतसम्म बढेको छ ।
उपभोक्ताको हितमा सरकार सम्वेदनशिल बन्न नसक्दा कालोबजारी बढेको आँकलन गरिएको छ । सरकारलाई चाडपर्वमा चिनी अभाव हुन्छ भन्ने थाहा भए पनि उपभोक्तालाई सहज रूपमा आपूर्ति गर्नुपर्छ भनेर नयाँ रणनीति केही पनि बनाएको देखिदैन् । अहिले भारतीय बजारमा पनि चिनी महँगो भएको छ । भन्सारको बाटोभन्दा चोरीपैठारीबाट चिनी ल्याएर महँगो मूल्यमा बेच्न पाइने भएकोले व्यवसायीले आयात नै कम गर्न थालेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बजार अनुगमन गर्दा १ सय ८ देखि १ सय १० रूपैयाँसम्ममा चिनी बिक्री भएको पाइएको विभागका सूचना अधिकारी राकेश पाण्डेले बताएका छन् । तर बजारमा चिनी महँगो भयो भनेर विभागमा हालसम्म कुनै उजुरी नपरेको विभागका उच्च अधिकारीले बताएका छन् ।
चाडपर्वमा उपभोक्तालाई सहज रूपमा चिनी आपूर्तिको व्यवस्था मिलाउन विभागले सात वटा व्यावसायि फर्मलाई आयातको अनुमति यो भन्दा पहिले नै दिएको हो । सय दिनमा १९ हजार टन चिनी आयात गर्न अनुमति विभागले दिइसकेको छ । देशभर चिनीको वार्षिक माग २ लाख ८० हजार टन रहेको सरकारको आँकलन छ ।
जसमध्ये स्वदेशी उत्पादन १ लाख ८० हजार टन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । बाँकी करिब एक लाख टन आयात गर्नुपर्ने अवस्थामा निजी कम्पनीलाई चिनी आयातको स्वीकृति दिए पनि बजारमा मूल्य वृद्धि नियत्रन्त्रण भने हुन सकेको छैन ।
यो पनि पढ्नुहोस्–
‘चाडबाड नजिकिदै गर्दा कालोबजारी बढ्यो, चामल, चिनी र दालको मूल्य घटाउ’
FACEBOOK COMMENTS