काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । मङ्गलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेटवार्ता भएको हो ।
एमालेको राजनीतिमा सक्रिय बन्नेतर्फ अग्रसर रहेकी पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्षसमेत रहेका ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमाले र पार्टीका भ्रातृ सङ्गठनमा भण्डारीले आफ्नो प्यानल खडा गर्दै ओलीलाई अप्रत्यक्ष रूपमा चुनौती दिन सुरू गरिसकेकी छन्, जसबाट ओली असन्तुष्ट छन् । उनले सार्वजनिक रूपमा नै एमालेमा कुनै गुट नरहेको र पार्टीका अधिवेशन र भ्रातृ सङ्गठनको नेतृत्व चयनमा सर्वसम्मतको प्रयास गरिरहेका छन् ।
एमालेका पादधिकारीहरूले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन प्रयास गरिरहेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को उपाध्यक्ष बनेर भण्डारीलाई सक्रिय राजनीतिमा आउन बाटो खोलेको विश्लेषण गरिएको छ ।
भण्डारीले पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा पुगेर एमालेका नेता, कार्यकर्ताहरूसँग भेट गर्ने गरेकी छन् । त्यस्तै, उनले हालै एमाले नेताको हैसियतमा चीन भ्रमणसमेत गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग पछिल्लो राजनीतिबारे छलफल गरेको र पार्टीमा आफ्नो भूमिका खोजेको बताइएको छ ।
FACEBOOK COMMENTS