पोखरा । पाँच महिनादेखि युनाइटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका–२६ का अमृत रानाभाटलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएईदेखि रानाभाटलाई उद्धार गरेर मंगलबार उनको परिवारलाई बुझाएका हुन ।
रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए । सुरूमा ११ सय दिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलब नपाएपछि कम्पनी छोडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए ।
त्यहाँ पनि भनेजति तलब नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए । कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखि उनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयन पटक घर आउन खोजेका रानाभाटले भने, ‘कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोबाइलसमेत थिएन ।’ अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अभिभावक नै भेट्टाएको अनुभव भएको उनले सुनाए ।
कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरिपरि बेवारिसे अवस्थामा दिन काट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताएका उनले भने, ‘गर्मीबाट बच्न दिनभरि सार्वजनिक यातायातमा हिँड्थे ।’
खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा पुगेका वडा नं. २६ का अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन् ।
छोरालाई उद्धार गरेर ल्याइदिएपछि रानाभाटकी आमा शान्ति रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको उल्लेख गरे । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्र परेको भिडिओ गाउँलेले देखाइदिएको बताइन् । ‘छोरा फर्कियो, अब यही सहारा हो’, शान्तिले भनिन् ।
घर फर्किएका अमृतले पनि अब गाउँघरमै कृषि पेसा गरेर आमा र दाजुभाइसँग समय बिताउने उल्लेख गरे ।
अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पूरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफूले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
रानाभाट दुई वर्षअगाडि एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट युएई पुगेका थिए ।
FACEBOOK COMMENTS