काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धेरै नजिस्क्याउन गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी दिएका छन् ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहीबार भक्तपुरमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र नेकपा एमालेका नेताहरू पञ्चायत, निरङ्कुश राजतन्त्र, राजा ज्ञानेन्द्रको ‘कू’ र प्रतिगमन झेल्दै विभिन्न समय जेलनेलसमेत भोगेर आजको अवस्थामा आएकाले आफूहरूलाई पक्राउको भाषा प्रयोग गरेर नजिस्क्याउन चेतावनी दिएका हुन् ।
‘हामीले पञ्चायत, निरङ्कुश राजतन्त्र, राजा ज्ञानेन्द्रको ‘कू’ र प्रतिगमन सबै कुरा देखेका छौँ । जेलनेलको कठिनाई भोग्नु हाम्रा लागि नयाँ कुरा होइन,’ अध्यक्ष ओलीले भने, ‘यो देशको रक्षाका लागि, सार्वभौम सत्ताका लागि, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि, देशको हित रक्षाका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ धेरै जिस्क्याइरहनु पर्दैन । लड्दै लड्दै यो ठाउँसम्म आएको हौँ ।’
यस्तै, उनले गृहमन्त्री अर्याललाई धेरै नउत्ताउलिन र नचम्किन पनि सुझाव दिएका छन् । ‘गृहमन्त्रीको सम्बनधमा मलाई धेरै केही भन्नु परेको छैन,’ ओलीले भने, ‘गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहान्छु । राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा ख्यालठट्टा होइन यस कुरालाई बुझेर चल्न सुझाव दिन चाहान्छु ।’
FACEBOOK COMMENTS