काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र कुलमान घिसिङबीच छलफल भएको छ ।
शनिबार भएको छलफलमा बालेनले रास्वपाबाट आएको प्रस्तावका बारेमा कुलमानलाई जानकारी गराएका थिए । स्रोतका अनुसार बालेनले रास्वपाको प्रस्ताव बारे ब्रिफिङ गर्दै बाहिर आए जस्तो सहमति नभएको स्पष्ट गरेका थिए ।
बालेन र कुलमानबीच यसअघि नै एक साथ देश विकास पार्टीलाई अगाडी बढाउने सहमति भएको थियो । यस बिचमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएपछि अहिले कार्यदल स्तरमा छलफल जारी रहेको छ । बालेन निकट र रास्वपामा रवि लामिछानेका निकटहरुले हाल सांगठानिक भागबण्डा र चुनाव चिन्हका विषयमा कुरा नमिलेको बताएका छन् । बालेनले कुलमान घिसिङ, सिके राउत, हर्क साम्पाङ र विभिन्न जेनजी समुहहरुलाई समेट्नुपर्ने भन्दै रास्वपाको अहिलेको सांगठनिक अवस्थामा आफ्नो स्पष्ट भूमिका खोजेका छन् ।
अर्कोतर्फ लामिछानेले भने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि संगठनमा आफ्नो पकड कायम रहनुपर्ने र रास्वपाको नाम र चुनाव चिन्हबाटै अगाडी बढ्नुपर्ने अडान राखेको बुझिएको छ । यद्यपि यो विषय हाल रास्वपाबाट शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमान बेन र भूपदेव शाहबीच छलफल भइरहेको छ । उनीहरु सहमत भएपछि मात्र आज बालेन र रविबीच अन्तिम छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS