रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त) ले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने तर्क गरेका छन् ।
गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् ।
कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ । काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर पुगेर संघीयता चाहिन्छ भन्ने तथा काठमाडौंबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्नेजस्ता असंगत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचा, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे ।

‘काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएपछि संघीयता चाहिन्छ भन्ने । काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौं भन्ने ?,’ पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । हामी नयाँ हौं भन्ने साथीहरूलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहान्छु ।’

उनको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) प्रति लक्षित भए पनि कसैको नाम भने लिएनन् ।

असामान्य अवस्थामा चुनाव हुन लागेको चर्चा गर्दै पुनले । एक थान संसद् र एक थान सरकार चुन्न चुनाव हुँदैछैन भन्ने बुझेर मतदान गर्न मतादातालाई अपिल गरे । राष्ट्रिय स्वाधीनताको मुद्धा पेचिलो बनेकाले आफूहरू स्वाधीनता, सुशासन, समृद्धि र सामाजिक न्यायको स्पष्ट एजेण्डा समेटिएको चुनावी घोषणापत्रसहित चुनावमा होमिएको उनको भनाइ थियो ।

FACEBOOK COMMENTS