काठमाडौं । महिला उद्यमी क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
सौन्दर्य व्यवसायमार्फत व्यावसायिक पहिचान निर्माण, तालिम, नेटवर्किङ, सामाजिक चेतना अभिवृद्धि तथा ग्रामीण महिलामाझ उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा क्रियाशील रहँदै आएकी श्रेष्ठले महासंघको भावी नेतृत्वका लागि उम्मेदवारी खर्ता गराएकी हुन् । उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षा नभइ महिला उद्यमीहरूको अधिकार, सम्मान र सशक्त प्रतिनिधित्वको अभियान भएको दाबी गरेकी छिन् ।
उनले महिला उद्यमी समितिमार्फत गरिएका कार्यहरूको निरन्तरतासँगै अब नीतिगत र संरचनागत तहमा प्रभावकारी हस्तक्षेप आवश्यक रहेको धारणा व्यक्त गरिन् । हालैको विधान संशोधनमार्फत महिला उपाध्यक्ष पद आरक्षणको व्यवस्था गरिएको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् ।
आफू एकैचोटी उपाध्यक्षको दाबीमा नभई केन्द्रीय सदस्य हुँदै प्रक्रिया पूरा गरी प्रतिनिधित्व गर्न अगाडि बढेको श्रेष्ठले स्पष्ट पारिन् । विधानअनुसार १२ जना महिला प्रतिनिधित्व आवश्यक पर्ने उल्लेख गर्दै उनले सो सङ्ख्या पूरा गर्न महिला उद्यमीहरूलाई एकजुट हुन आह्वान समेत गरिन् । ‘८०–९० जना केन्द्रीय सदस्य हुँदा १०–१२ जना महिला अट्न नसक्ने अवस्था हुनु हुँदैन,’ उनले भनिन्, ‘देशभरिका महिला दिदीबहिनीहरू अगाडि आउनुहोस्, पछि नपर्नुहोस्, हामी सबै साथमा छौँ ।’
नीतिगत प्रतिबद्धता

श्रेष्ठले महिला उपाध्यक्ष पदका लागि आफ्नो प्रतिबद्धतामा महिलामैत्री व्यवसाय नीतिलाई थप प्रभावकारी बनाउने, कर छुट तथा व्यवसाय दर्ता प्रक्रिया सरल बनाउने विषयलाई प्राथमिकतामा राखेकी छन् ।

उनले सार्वजनिक खरिद तथा सहकारी क्षेत्रमा महिला कोटा सुनिश्चित गर्न, कार्यस्थलमा हुने दुर्व्यवहारविरुद्ध कडा कार्यविधि लागू गर्न र महिला उद्यमीको वित्तीय पहुँच सहज बनाउनुपर्ने आवश्यकता औंल्याइन् । नेपाल राष्ट्र बैंकमार्फत महिला लक्षित सहुलियत ऋण, बिना धितो साना कर्जा विस्तार तथा स्टार्टअप महिला व्यवसायीका लागि विशेष कोष स्थापना गर्नुपर्ने उनको माग छ ।

साथै, वित्तीय साक्षरता, डिजिटल मार्केटिङ, लेखा व्यवस्थापन, निर्यात अभिमुखी तालिम तथा सिप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताइन् । ग्रामीण क्षेत्रमा सिपमूलक प्रशिक्षण केन्द्र स्थापना, सफल महिला उद्यमीसँग मेन्टोरशिप कार्यक्रम र महिला एक्सपो नियमित आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीति आवश्यक रहेको उनको धारणा छ ।

सामाजिक सोचमा परिवर्तनको आवश्यकता

श्रेष्ठले महिला उद्यमशीलतालाई केवल व्यावसायिक मुद्दा नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा लिनुपर्ने बताइन् । ‘महिला व्यवसायी भनेपछि घरपरिवारको दायित्व पनि महिलामाथि नै पर्छ भन्ने सोच बदल्नुपर्छ,’ उनले भनिन्, ‘परिवारमा पुरुषको समान सहयोग र कार्यशैली सन्तुलनका लागि आवश्यक संरचना विकास गरिनुपर्छ ।’
ग्रामीण क्षेत्रमा कृषि आधारित महिला उद्यम, ललितकला तथा घरेलु उद्योग प्रवर्द्धन गर्दै उत्पादनलाई बजारसम्म जोड्ने संरचना निर्माणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायत सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरिन् ।
महिला नेतृत्वलाई सशक्त बनाउँदै समाजसेवी र समृद्ध निजी क्षेत्र निर्माण गर्ने प्रतिबद्धतासहित आफू उम्मेदवारीमा उत्रिएको बताउँदै श्रेष्ठले सबै महिला उद्यमी तथा सरोकारवालासँग सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेकी छन् ।
महासंघले आगामी चैत २८ र २९ गते ६०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त साधारणसभाले संघले भावी नेतृत्व चयन गर्ने छ ।
यो पनि पढ्नुहोस्–
उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र
FACEBOOK COMMENTS