काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुँदै आएको करेन्ट चाउचाउ गुणस्तरहीन रहेको पुष्टि गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
रूपन्देहीको तिलोत्तमामा अवस्थित यशोदा फुड्स प्रालिद्वारा उत्पादित करेन्ट चाउचाउ मानव स्वास्थ्यका लागि हानिकारक रहेको सरकारी परीक्षणबाटै प्रमाणित भएपछि उपभोक्तामाझ त्रास फैलिएको छ । सोही कारण यतिबेला करेन्ट चाउचाउको बिक्रीवितरण ठप्प भएको छ ।
विभागले चाउचाउमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नभेटिएको जनाएको छ । यही आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत सम्बन्धित ब्याचका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गर्न र अर्को सूचना जारी नभएसम्म बिक्री वितरण रोक्न आदेश जारी गरिएको छ ।
पछिल्लो समय सबैभन्दा धेरै चर्चा करेन्ट चाउचाउकै भइरहेको छ । किनकि यो उत्पादन विशेष गरी युवा पुस्ता माझ अत्यधिक लोकप्रिय बनेको थियो । ‘जब भोक लाग्छ तब करेन्ट चाउचाउ’ भन्ने संस्कृति नै विकसित भइसकेको नेपाली समाजमा पिरो चाउचाउ खाने बानी दैनिक जीवनको हिस्सा बनेको छ । यही बानीलाई व्यापारमा बदल्दै अर्बौँ कमाइ गर्ने कम्पनीमाथि अहिले मानव स्वास्थ्यसँग खेलबाड गरेको आरोप लागेको छ ।
करेन्ट चाउचाउ नेपाली युवापुस्ताको ‘फेभरेट’ खाजाका रूपमा स्थापित भइसकेको थियो । सामाजिक सञ्जालदेखि विद्यालय, कलेज, क्यान्टिन र होस्टेलसम्म यसको प्रभाव व्यापक थियो । चम्किला विज्ञापन, पिरोपन र युवा लक्षित मार्केटिङ रणनीतिमार्फत करेन्टले छोटो समयमै बजारलाई कब्जा गरेको थियो । तर, अहिले त्यही उत्पादन सरकारी परीक्षणमै गुणस्तरहीन साबित भएपछि उपभोक्ताले आफूले वर्षौँदेखि के खाइरहेका रहेछन् भन्ने छर्लङ्ग भएको छ ।

पछिल्लो समय धेरै विद्यालय र कलेजहरूले विद्यार्थीलाई करेन्ट चाउचाउ खान रोक लगाएका छन् । अभिभावकहरू पनि चिन्तित बनेका छन् । जसरी चुरोट र मदिरालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ, अहिले धेरैले करेन्ट चाउचाउलाई पनि त्यही स्तरमा राखेका छन् । ५० रूपैयाँको स्वादका लागि भविष्यको स्वास्थ्य किन बिगार्ने ? भन्ने प्रश्न अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा उठिरहेको छ ।

करेन्ट चाउचाउमाथि कारबाही भएको घटनाले नेपाली बजारमा बेचिने खाद्य पदार्थ कति सुरक्षित छन् भन्ने प्रश्नको उजागर गरेको छ । आकर्षक विज्ञापन हेरेर, स्वाद हेरेर वा चर्चाको भरमा कुनै पनि खाना सेवन गर्दा त्यसले शरीरमा दीर्घकालीन रूपमा कस्तो असर गर्छ भन्ने प्रश्नको जवाफ करेन्ट चाउचाउले दिएको छ ।

सरकारी निकायले नै गुणस्तरहीन भनेर प्रमाणित गरिसकेको उत्पादनप्रति अझै पनि आँखा चिम्लिनु उपभोक्ताकै कमजोरी हुने देखिन्छ । स्वादका लागि स्वास्थ्यलाई जोखिममा राख्ने कि बेलैमा सचेत हुने भन्ने निर्णय अब उपभोक्ताकै हातमा छ । किनकि एकछिनको स्वादले जीवनभरका लागि दु:ख दिने रोग निम्त्याउन सक्छ । अहिलेको बहस केवल एउटा चाउचाउको विषय मात्र होइन, यो नेपाली उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षा र जिम्मेवार बजार व्यवस्थापनसँग जोडिएको गम्भीर विषय हो ।
करेन्ट चाउचाउ यसअघि पनि विभिन्न विवादमा तानिँदै आएको थियो । कहिले प्याकेटभित्र किरा भेटिएको भिडिओ सार्वजनिक भयो, कहिले उत्पादन मिति मेटिएको आरोप लाग्यो । तर, ती सबै विवादहरू समयसँगै सेलाएका थिए । अहिले भने सरकारी निकायले नै गुणस्तरहीन भएको पुष्टि गरेपछि तत्कालका लागि यसको बिक्री वितरण नै रोकिएको छ ।
यशोदा फुड्सका मालिकहरू यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएका छन् । कम्पनीसँग सम्बन्धित व्यक्तिहरू माथि राजस्व छलीको मुद्दा विचाराधीन रहेको समाचार सार्वजनिक भइसकेका छन् । करेन्ट नामकै सुर्तीजन्य पदार्थ उत्पादन गर्ने समूहसँग सम्बन्धित व्यवसायीहरूले चाउचाउ उत्पादनमा समेत लगानी गरेको तथ्य बाहिर आएको छ । यसले उपभोक्तामाझ अर्को प्रश्न उठाएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले करेन्ट चाउचाउ जस्तो अत्यधिक पिरो चाउचाउ मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने बताएका छन् । उनीहरूले यस्तो चाउचाउमा प्रयोग हुने फाइबररहित मैदा, अत्यधिक नुन, तेल, अजिनोमोटो, रसायनयुक्त मसला तथा कृत्रिम फुड कलरले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने बताएका छन् ।
पिरो चाउचाउ खराब खानेकुरा भित्र पर्छ । यसले पाचन प्रणाली बिगार्ने, पेट पोल्ने, कब्जियत, पायल्स, ग्यास्ट्रिक लगायतका समस्या निम्त्याउँछ । जानकारहरूले चाउचाउ उत्पादक कम्पनीहरूले उपभोक्तालाई लत बसाउनकै लागि अजिनोमोटो प्रयोग गर्ने गरेको दाबी गरेका छन् ।
विशेष गरी बालबालिका र किशोर किशोरीहरूमा यसको असर अझ गम्भीर हुने विज्ञहरूको भनाइ छ । पोषणविद्हरूले अत्यधिक पिरो, नुन र तेल मिसाइएको चाउचाउ नियमित खानाले बालबालिकामा कुपोषण, मोटोपना, पाचन समस्या तथा दीर्घकालीन रोगको जोखिम बढाउने तर्क गरेका छन् । गर्भवती महिलाले यस्तो खाना खाँदा बच्चाको स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकहरूको भनाइ छ ।