काठमाडौं । एक्लै लड्नुपरेको गुनासो गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको जवाफ दिएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा स्टाटस लेखेर आफू एक्लै लडिरहेको गुनासो गरेका थिए । उक्त गुनासोको जवाफ दिँदै झाले आफू सरकारको साथमा रहेको जवाफ सामाजिक सञ्जालबाटै दिएका छन् ।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शंका छैन, तर सुधार गर्नै पर्ने केही पक्ष छन्’, मनिषले बालेनलाई भनेका छन्, ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ । जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ, र म सकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’