काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गतिशीलता (मोबिलिटी) र कनेक्टिभिटी आर्थिक विकासको मुख्य आधार भएको बताएका छन् ।
नाइमा एक्स्पि २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अटोमोबाइल क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा मात्र हेरिनु गलत भएको तर्क गर्दै उनले यसलाई समग्र आर्थिक प्रणाली र पूर्वाधार विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।
हालैको एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष श्रेष्ठले नेपालमा सुरक्षित, दिगो र प्रविधिमैत्री यातायात प्रणालीको आवश्यकता औंल्याउदै यसले कनेक्टिभिटी, ऊर्जा र प्रविधिको विकासले नै अन्तत: आर्थिक वृद्धिलाई गति दिने र लगानीको सम्भावना बढाउने बताए ।
‘विगतदेखि नै अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको छैन । सरकारले यसलाई जहिले पनि विलासिताको वस्तुको रूपमा मात्र परिभाषित गरेर उच्च भन्सार दर लगाउँदै आएको छ । नेपालमा लगाइने भन्सार दर संसारकै उच्चमध्येमा पर्छ, जुन यो क्षेत्रको विकासका लागि बाधक छ, ‘ उनले भने ।
पूर्वाधार विकासमा सुस्तता काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप र सडक पूर्वाधारको अवस्थाबारे बोल्दै उनले २० वर्षअघिको तुलनामा सवारी साधनको संख्या निकै बढे पनि सडक विस्तार र आधुनिक पूर्वाधार निर्माणमा राज्य पछि परेको बताए ।
ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका चुनौतीहरू औंल्याउँदै अध्यक्ष श्रेष्ठले सवारी साधनको संख्या र ट्राफिक प्रहरीको अनुपात नमिल्दा समस्या सिर्जना भएको बताए ।
८–१० वर्षअघि काठमाडौंमा ५–६ सयको हाराहारीमा रहेका ट्राफिक प्रहरीको संख्या अहिले पनि उस्तै रहनु र सवारी साधन भने कयौँ गुणा बढ्नुले व्यवस्थापनमा कठिनाइ भइरहेको उनको भनाइ थियो । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन र आर्थिक विकासलाई गति दिन सरकारले नीतिगत सुधारसँगै पूर्वाधारमा ठोस लगानी गर्नुपर्ने उनको भनाइ छ ।