काठमाडौं । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को नयाँ प्रतिवेदनले इन्टरनेट प्रयोग गर्ने बालबालिकामाथि हुने अनलाइन यौन दुर्व्यवहार तथा उत्पीडनको भयावह अवस्था सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार २१ देशमा एक वर्षको अवधिमा करिब २ करोड बालबालिकाले अनलाइन यौन दुर्व्यवहार वा उत्पीडनको सामना गरेका छन् ।
अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्वी युरोपका २१ देशमा गरिएको सर्वेक्षणमा १२ देखि १७ वर्ष उमेर समूहका पाँचमध्ये एकभन्दा बढी बालबालिकाले सर्वेक्षणअघिको एक वर्षमा कम्तीमा एक प्रकारको अनलाइन यौन दुर्व्यवहार वा उत्पीडन भोगेको बताएका छन् ।
सर्वेक्षणमा करिब १ करोड ५० लाख बालबालिकाले आफूले नचाहेको यौन सामग्री देख्नुपरेको बताएका छन् । त्यस्तै, करिब ९० लाख बालबालिकालाई यौन संवाद गर्न वा यौन तस्वीर पठाउन दबाब दिइएको तथा करिब ४० लाख बालबालिकाका यौन तस्वीर उनीहरूको अनुमतिबिना सार्वजनिक गरिएको पाइएको छ ।
अनलाइन यौन दुर्व्यवहारका करिब ६० प्रतिशत घटना सामाजिक सञ्जालमार्फत हुने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, करिब १४ प्रतिशत घटना अनलाइन खेलसँग सम्बन्धित थिए । चिन्ताजनक पक्ष के छ भने आधाभन्दा बढी घटनामा दुर्व्यवहार गर्ने व्यक्ति पीडित बालबालिकाले पहिल्यै चिन्ने व्यक्ति रहेका थिए । साथी, आफन्त वा प्रेम सम्बन्धमा रहेका व्यक्ति पनि त्यस्ता घटनामा संलग्न रहेको पाइएको छ ।

यति ठूलो संख्यामा घटना भए पनि प्रहरी, सामाजिक कार्यकर्ता वा सहायता केन्द्रसम्म पुग्ने घटना भने १ प्रतिशतभन्दा कम रहेको युनिसेफले जनाएको छ । यसले धेरै बालबालिका दुर्व्यवहारको सामना गरेपछि पनि डर, लाज वा सहयोग कहाँ माग्ने भन्ने जानकारीको अभावका कारण चुपचाप बस्ने गरेको देखाएको छ ।
प्रतिवेदनले कृत्रिम बौद्धिकताबाट सिर्जना गरिएका यौन सामग्रीलाई पनि बालबालिकाका लागि नयाँ र गम्भीर खतरा भनेको छ । नौ देशका तथ्यांकअनुसार करिब ११ लाख बालबालिकाले आफ्नो तस्वीर वा भिडियो कृत्रिम बौद्धिकताको प्रयोग गरी यौन स्वरूपमा बनाइएको बताएका छन् । अनलाइन यौन दुर्व्यवहारको असर बालबालिकाको मानसिक स्वास्थ्यमा समेत गम्भीर रूपमा पर्ने प्रतिवेदनमा उल्लेख छ । यस्ता अनुभव भोगेका बालबालिकामा आत्महत्या गर्ने विचार वा आफैंलाई चोट पुर्याउने जोखिम करिब चार गुणा बढी देखिएको तथा उनीहरूमा चिन्ताको स्तरसमेत उच्च पाइएको छ ।
युनिसेफले सरकार र प्रविधि कम्पनीहरूलाई बालबालिकाको अनलाइन सुरक्षा व्यवस्था बलियो बनाउन आग्रह गरेको छ । बदलिँदो अनलाइन दुर्व्यवहारका नयाँ स्वरूप, विशेषगरी कृत्रिम बौद्धिकताबाट सिर्जना हुने यौन सामग्रीलाई समेत समेट्ने गरी कानुन अद्यावधिक गर्नुपर्नेमा उसले जोड दिएको छ । साथै, बाल संरक्षण प्रणाली र उजुरी तथा सहायता संयन्त्रलाई बलियो बनाउनुपर्ने युनिसेफको सुझाव छ, ताकि अनलाइन दुर्व्यवहारमा परेका बालबालिकाले सहज रूपमा सहयोग पाउन सकून् ।