काठमाडौं । रणवीर कपूर, साई पल्लवी र यश अभिनीत भारतीय फिल्म ’रामायण’ ले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ।
फिल्मले अल्लु अर्जुन अभिनीत ’पुष्पा २: द रूल’ लाई पछि पार्दै नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको कीर्तिमान बनाएको हो।
नेपालमा फिल्मको वितरक एप्पल इन्टरटेन्मेन्टका अनुसार ’रामायण’ ले सोमबार रातिसम्म नेपालमा २६ करोड ५० लाख रूपैयाँको आँकडा पार गरिसकेको छ।
’२६ करोड ५० लाख रूपैयाँको आँकडा हिजो नै पार गरिसक्यो,’ एप्पल इन्टरटेन्मेन्टकी कार्यकारी निर्देशक विपश्यना श्रेष्ठले भनिन्।
यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड ’पुष्पा २’ को नाममा थियो। सार्वजनिक विवरण अनुसार उक्त फिल्मले नेपालमा २६ करोड ४६ लाख रूपैयाँ कमाएको थियो।

’रामायण’ ले प्रदर्शनको तीन साताभन्दा कम समयमै यो उपलब्धि हासिल गरेको हो। यससँगै फिल्मले ’बाहुबली २’, ’केजीएफ च्याप्टर २’ र ’आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मलाई पनि पछि पारेको छ।

नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको सूचीमा अब ’रामायण’ पहिलो स्थानमा छ। दोस्रो स्थानमा ’पुष्पा २’, तेस्रोमा ’बाहुबली २’, चौथोमा ’केजीएफ च्याप्टर २’ र पाँचौं स्थानमा ’आरआरआर’ छन्।

नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूरले राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। रवि दुबेसहित अन्य चर्चित कलाकारहरूको समेत अभिनय छ।

नेपालमा नयाँ रेकर्ड बनाएको फिल्मले विश्वव्यापी बक्स अफिसमा पनि ठूलो कमाइ गरेको छ। ’रामायण’ नेपालमा पनि एकै दिनदेखि प्रदर्शनमा आएको थियो।