काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित प्रयोग, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनलाई प्रभावकारी बनाउन ईसी–काउन्सिल र साइबर सुरक्षा कम्पनी वान कभर प्रालिले रणनीतिक पहल सुरु गरेका छन्।
एआईसम्बन्धी नीतिलाई कागजमा मात्र सीमित नराखी व्यावहारिक कार्यान्वयनमा लैजाने उद्देश्यले एडप्ट, डिफेन्ड एन्ड गभर्न (एडीजी) फ्रेमवर्क कार्यान्वयनमा ल्याउन लागिएको हो।
ईसी–काउन्सिलका सार्क क्षेत्रीय वरिष्ठ कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्ताव तथा वान कभरका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीसहितको गभर्नेन्स, जोखिम तथा अनुपालन (जीआरसी) टोलीमार्फत उक्त फ्रेमवर्क कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।
स्वतन्त्र रूपमा निर्णय लिन र कार्यसम्पादन गर्न सक्ने एजेन्टिक एआईको प्रयोग बढ्दै गएपछि त्यससँग सम्बन्धित साइबर सुरक्षा, पारदर्शिता र जवाफदेहिताका चुनौती सम्बोधन गर्न फ्रेमवर्क तयार गरिएको हो।
फ्रेमवर्कमा एआई प्रणालीको डिजाइन, तथ्याङ्क संकलन, सञ्चालनगत सुरक्षा तथा फरेन्सिक अनुसन्धानसम्म समेट्ने १२ प्रमुख नियन्त्रण क्षेत्र छन्। यसमा १८० भन्दा बढी सञ्चालनगत नियन्त्रण र ७२० भन्दा बढी प्राविधिक तथा नीतिगत आवश्यकताहरू समावेश गरिएको छ।

एडीजी फ्रेमवर्कका नियन्त्रण प्रणालीलाई आईएसओ/आईईसी ४२००१, युरोपेली संघको एआई ऐन, एनआईएसटी एआई जोखिम व्यवस्थापन फ्रेमवर्कलगायत ९० भन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड, कानुन तथा साइबर जोखिमसम्बन्धी स्रोतसँग आबद्ध गरिएको कम्पनीले जनाएको छ।

यस प्रणालीले एआई एजेन्टको पहिचान, कार्यसम्पादनको समय, नीतिगत परीक्षण र मानवीय स्वीकृतिसम्बन्धी अभिलेख स्वचालित रूपमा सुरक्षित राख्ने बताइएको छ। यसबाट नियामकीय अनुपालन तथा लेखापरीक्षणका क्रममा एउटै प्रमाणलाई विभिन्न मापदण्डअनुसार प्रयोग गर्न सकिने कम्पनीको दाबी छ।

फ्रेमवर्कले संस्थाको विद्यमान प्रविधि संरचना र एआई प्रयोगको अवस्था मूल्याङ्कन गरी ३०, ६० र ९० दिनको कार्ययोजना उपलब्ध गराउनेछ।

वान कभरको प्राविधिक नेतृत्वमा नेपालसहित दक्षिण एसियाका संस्थाहरूले स्थानीय स्तरमै एआई गभर्नेन्स तयारी मूल्याङ्कन, विद्यमान कमजोरीको विश्लेषण तथा कार्यान्वयनसम्बन्धी परामर्श प्राप्त गर्न सक्नेछन्।
यस पहलबाट बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र निजी क्षेत्रका उद्यमलाई सुरक्षित, विश्वसनीय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप एआई प्रणाली सञ्चालन गर्न सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।