काठमाडौं । अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आँखा क्लिनिकबीच कर्पोरेट वेलनेससम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।
सम्झौताअनुसार आइएमई खल्तीका कर्मचारीहरूले भिजन कन्सर्न आँखा क्लिनिकका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूबाट निःशुल्क व्यापक आँखा परीक्षण, निःशुल्क चिकित्सक परामर्श तथा प्राथमिकताका साथ अपोइन्टमेन्ट सेवा प्राप्त गर्नेछन्।
यसका साथै कर्मचारीहरूलाई विभिन्न अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन चस्मा र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्यको सुविधा प्रदान गरिने जनाइएको छ।
सम्झौताअन्तर्गत भिजन कन्सर्न आँखा क्लिनिकले डिजिटल आँखाको थकानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीमाझ उपलब्ध सुविधाबारे जानकारी तथा प्रचारप्रसार गर्नेछ।

एक वर्षका लागि लागू हुने उक्त सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै संस्थाले आ–आफ्ना समन्वयकर्ता नियुक्त गर्ने सहमति गरेका छन्। यो साझेदारीले कर्मचारीहरूको आँखा स्वास्थ्य संरक्षण तथा कार्यस्थलको समग्र स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
