काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अर्थतन्त्रका संरचनात्मक समस्याको उपचार गर्ने ‘एन्टिबायोटिक’को संज्ञा दिएकी छन् ।
प्रतिनिधिसभामा आज बुधबार बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि राज्यको ढुकुटी रित्याएर समाजवाद स्थापना हुन नसक्ने बताइन् । उनका अनुसार बलियो राष्ट्रिय पुँजी निर्माण, उत्पादन वृद्धि र नागरिकको आयस्तर उकासिएपछि मात्र वास्तविक समाजवादको आधार तयार हुन्छ ।
‘यो बजेट पुरानो रोगमा लगाइने साधारण मलम होइन, अर्थतन्त्रको संरचनात्मक रोग निको पार्ने एन्टिबायोटिकका रूपमा आएको छ,’ सांसद अधिकारीले भनिन्, ‘संविधानले समाजवाद उन्मुख अर्थतन्त्र त भनेको छ तर राज्यको ढुकुटीलाई सिध्याएर समाजवाद कदापि आउँदैन । पुँजीवाद र राष्ट्रिय पुँजी निर्माणको बलियो आधार तयार भएपछि मात्र र नागरिकको आयस्तर बढेपछि मात्र वास्तविक समाजवाद आउँछ ।’
उनले बजेटले अर्थतन्त्रलाई गतिशील बनाउन ६ वटा आर्थिक इन्जिनलाई अघि सारेको उल्लेख गर्दै विशेषगरी कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकता दिइएको बताइन् । आईटी सेवामा कर छुटको व्यवस्था र एआई कम्प्युट सेन्टर स्थापना गर्ने योजनाले नयाँ रोजगारी सिर्जना गर्नुका साथै नेपाललाई ‘नलेज इकोनोमी’का रूपमा विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
सांसद अधिकारीले बजेटले निजी क्षेत्र, नवप्रवर्तन र प्रविधिमैत्री अर्थतन्त्रलाई प्रोत्साहन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको दाबी गर्दै दीर्घकालीन आर्थिक रूपान्तरणका लागि यस्ता नीतिगत हस्तक्षेप आवश्यक रहेको बताइन् ।

हेर्नुहोस् भिडिओ–
